तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा जिल्ला फुटबल सङ्घको भवन उद्घाटन

सुर्खेत । सुर्खेत जिल्ला फुटबल सङ्घको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले शुक्रवार वीरेन्द्रनगरमा रिबन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।

उहाँले ८ लाख रुपैयाँको लागतमा निर्मित भवन उद्घाटन गर्दै वीनपा सुरुदेखि नै खेल जगतको विकासका लागि निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई करियरकै रुपमा विकास गरी देश, विदेशमा नाम चिनाउने खेलाडी उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको औँल्याउनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले कर्णालीका सबै जिल्लामा खेलको वर्गीकरण गरेर खेलाडी छनोट गर्नुपर्नेमा जोड दिनुभयो । फागुनमा मेयर कप र उपमेयर कप हुने जानकारी दिँदै अध्यक्ष रावलले वीरेन्द्रनगर नगरपालिकाका सबै वडाका खेलाडीलाई भाग लिन आग्रह गर्नुभयो ।

अब कर्णालीमै ठुला खेलहरू सञ्चालन गर्ने वातावरण तीनै तहका सरकारले सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button