तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट: शनिबार फाइनल

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ । चौथो संस्करणको फाइनलमा मैदान उत्रँदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।

एपीएफ अपराजित रहँदै फाइनल पुगेको हो । समूह चरणमा एपीएफ अपराजित रहने एक्लो टिम हो । पहिलो खेलमा एपीएफले प्रदेश–१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।

समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भए पनि अन्य खेलमा विजयी भएको थियो । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो । आर्मीले सेमिफाइनलमा बाग्मती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

आर्मी फाइनलमा भने एपीएफसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । पीएम कप क्रिकेटको इतिहासमा आर्मी लगातार फाइनल खेल्ने एक्लो टिम हो । तर, पहिलो संस्करणमा पुलिससँग उपाधि बाडेको आर्मी फाइनलमा चुक्दै आएको छ । यस पटक भने आर्मी गल्ती दोहोर्‍याउने पक्षमा छैन । एपीएफविरुद्ध आर्मी सहज भने हुनेछ ।

आर्मीका तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल यस पटक टिममा छैनन् । उनीहरू टी–१० लिगका लागि युएईमा रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button