तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता पारिएका पीडित परिवारलाई परिचय पत्र दिन सुरु

रुपन्देही । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका पीडित परिवारलाई परिचय पत्र दिन सुरु गरेको छ ।

सुरुवातको चरणमा द्वन्द्वको सबैभन्दा धेरै प्रभावित भएको जिल्ला बर्दियाबाट परिचय पत्र दिन सुरु गरिएको आयोगले जनाएको छ ।

१ फागुन ०५२ देखि ८ मङ्सिर ०६३ सम्म नेपालमा चलेको सशस्त्र द्वन्द्वको क्रममा सबैभन्दा बढी बेपत्ता भएको लुम्बिनी प्रदेश र त्यसमा पनि बर्दिया जिल्लाबाट सबैभन्दा बढिरहेको भन्दै आयोगले बर्दियाबाट परिचय पत्र दिन सुरु गरेको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारीले बताउनुभयो ।

प्रवक्ता अधिकारीले बेपत्ता पारिएको यकिन भएका व्यक्ति मध्ये ६ जना बेपत्ता व्यक्तिका परिवारलाई पीडित परिचय पत्र वितरण गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८ सय ७७ वटा आयोगमा उजुरी परेकोमा विस्तृत छानबिनको निर्णय अनुसार ७ सय २१ उजुरी छन् । त्यसमध्ये बर्दियाका मात्र २ सय ५५ रहेका छन् ।

प्रवक्ताका अनुसार प्रदेशका विस्तृत छानबिनको निर्णय अनुसार दर्ता भएका ७ सय २१ मध्ये ७ सय १२ वटा उजुरीमा अनुसन्धान अधिकारी तोकिएको छ ।

त्यस्तै ९ वटा उजुरीमा अनुसन्धान अधिकारी तोक्न बाँकी रहेको र छिट्टै अनुसन्धान अधिकारी तोकिने उहाँको भनाई छ ।

उहाँले चैतदेखि विस्तृत अनुसन्धानको काम रोल्पाबाट सुरु गरे पनि कोभिडका कारण साउनसम्मै काम गर्न नपाएको बताउँदै अब आयोगले कामले गति लिने समेत बताउनुभयो ।

आयोगले पीडित व्यक्तिका परिवारलाई आरक्षण, सहुलियतपूर्ण कर्जा तथा ऋण सुविधा, कर छुट, शिक्षा तथा तालिम, स्वास्थ्य, बिमा, यातायात, नागरिकता, सम्पत्ति र लक्षित नीति कार्यक्रममा समेट्न बुँदागत सुझाव सहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

आयोगका अनुसार व्यक्ति बेपत्ता पारिएको सम्बन्धमा हाल सम्म आयोगमा ३ हजार २ सय २३ उजुरी मध्ये २ हजार २ सय ७६ उजुरीहरू उपर विस्तृत छानबिनको क्रममा प्रथम चरणको कार्यसम्म भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button