सल्यानको कुमाखमा ४ सय २६ घरधुरीलाई फिल्टर वितरण
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ ले वडाका ४ सय २६ घरपरिवारलाई फिल्टर वितरण गरेको छ । प्रदूषित पानी पिउँदा विभिन्न सरुवा रोगहरू लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
स्वच्छ र सफा पानीको अभावमा विभिन्न सङ्क्रामक रोगहरू लाग्ने भएकाले त्यस प्रकारका रोगहरूबाट बचाउन वडाका ४ सय २६ घरपरिवारलाई फिल्टर वितरण गरिएको वडाध्यक्ष शेर बहादुर रावतले बताउनुभयो ।
घरपरिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनीहरूकै माग अनुसार फिल्टर वितरण गरिएको उहाँको भनाई छ । समय अनुसार नागरिकको बाँच्ने शैली फरक हुनुपर्छ भन्ने सोचका साथ यस्तो खालको कार्यक्रमलाई वडाले प्राथमिकता दिएको रावतले बताउनुभयो ।
अर्को वर्ष वडाका सबै घरधुरीमा स्वच्छ खानेपानीका लागि फिल्टर पुग्ने उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७–०७८ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत वडाका ४ सय २६ घरधुरीलाई फिल्टर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्