शहीद दशरथ चन्दको जन्मथलो पत्थरसियामा श्रद्धाञ्जली सभा
बैतडी । शहीद दिवसका अवसरमा शहीद दशरथचन्दस्मृति प्रतिष्ठान बस्कोट बैतडीद्वारा शहीदको जन्मथलो पत्थरसिया घरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष श्री विनोद बहादुर चन्दको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाका वक्ताहरूले शहीदले देखाएको बाटोमा नलाग्दा लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकास हुन नसकी राजनीतिक संस्कारमा ह्रास आएको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले ज्येष्ठ शहीदहरूले राणा शासन अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेकाले नै गणतन्त्र स्थापनाको लागि मार्ग प्रशस्त भए पनि राजनीतिक स्थिरता नभएको बताउनुभयो ।
उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ शहीदहरूले अवलम्बन गरेको मार्ग नेताहरूले नबुझ्दा अन्योल सृजना भएको पनि स्पष्ट पार्नुभयो ।
दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा, पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्द, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, पूर्व जि.वि.स. उपसभापति विष्णु दत्त जोशी र जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी लगायतले दशरथ चन्दले आर्थिक समुन्नतिसहितको राजनैतिक क्रान्तिको परिकल्पना गरेको बताउनुभयो ।
पिता शेर बहादुर चन्द र आमा पार्वती चन्दका कोखबाट वि.सं.१९६० साल असार १७ गते जन्मनु भएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा प्रारम्भ भएको सत्याग्रहमा पनि सक्रिय रूपले भाग लिनु भएको थियो ।
तत्कालीन राणा शासकहरूले गाथ गादी ताकेको अभियोग लगाई वि.सं.१९९७ साल माघ १५ गते काठमाडाँैको शोभा भगवतीमा दशरथ चन्दलाई गोली हानी मारेका थिए ।








प्रतिक्रिया राख्नुहोस्