तपाईँ सुन्दै हुनुहुन्छः

व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका महतारालाई

तनहुँ । व्यासनगर अल्ट्रा म्याराथनको उपाधि कालिकोटका नेपाली सेनाका २५ वर्षीय देवराज महताराले जित्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरी ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार गर्दै सेनाका महताराले चौथो व्यासनगर अल्ट्रा म्याराथनको उपाधि हात पार्नु भएको हो ।

उहाँले रु ८५ हजार ७७ सहित ट्रफी र मेडल पाउनुभएको छ । गत वर्ष उहाँ द्वितीय हुनुभएको थियो ।

त्यस्तै सोलुखुम्बुका सुमन कुलङले उक्त दुरी ३ घण्टा ८ मिनेट १ सेकेन्डमा पार गर्दै द्वितीय हुनुभएको छ । उहाँले रु ६५ हजार ७७ सहित ट्रफि मेडल पाउनुभएको छ । उहाँ तेस्रो व्यासनगर अल्ट्रा म्याराथनमा प्रथम हुनुभएको थियो ।

त्यस्तै रामेछापका वेद बहादुर सुनुवारले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा उक्त निर्धारित दुरी पार गर्दै तृतीय हुनुभएको छ । उहाँले रु ५५ हजार ७७ सहित ट्रफि मेडल पाउनुभएको छ ।
व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यासनगर अल्ट्रा म्याराथन गरेको व्यास नगरपालिकाले जनाएको छ ।

चौथो व्यास नगर अल्ट्रा म्याराथनमा स्थानीय र अन्य जिल्लाका गरि १ सय ६९ जना धावकले सहभागिताका लागि नाम दर्ता गराएका थिए ।

अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी धावकहरुको समेत म्याराथनमा सहभागीता रहेको थियो ।
गत वर्ष १ सय ५ जनाले सहभागिता जनाएका थिए ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट शुरु भएको म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहेको थियो ।

नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एक का दरले वृद्धि गरिएको छ ।

गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो ।

व्यास–४ ब्यास रेन्ज पोष्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्रसय, व्यास–८ रिस्ती सोतीबेशी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियोे ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनशन चौतारी, सफा सडक–भोर्लेटार चोक, बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंशी–बगुवा रिस्ती–बाहुनपोखरा हुँदै पुलिमराङमा पुगेर टुंगिएको थियो ।

गत वर्ष म्याराथन सोलुखुम्बुका सुमन कुलुङले विजयी हुनुभएको थियो ।

उहाँले ४४ किमि दुरी दुइ घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो भने प्रतियोगितामा कालीकोटका देवराज महतारा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button