गोठीगाउँका अग्नि पीडितलाई ११ लाखको राहत वितरण

जुम्ला । तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडित लाई प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले गाउँमै पुगेर राहत वितरण गरेको छ । प्रदेश सरकारले ५ लाख जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ लाख ३६ हजार गरी ११ लाख ३६ हजार बराबरको राहत वितरण गरिएको हो ।
राहत वितरणको तथ्याङ्क हेर्दा हेलिकप्टर रिर्जव गरी आएको कर्णाली प्रदेश सरकारको भन्दा जिल्ला विपद् व्यवस्थापन समितिले बढी राहत दिएको छ । प्रशासनले ५० हजार बराबरको ३५ थान ज्याकेट र १० त्रिपाल, ५६ हजारको ३५ ज्याकेट तथा पाँच लाख ३० हजार नगद राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ पाँच जना परिवार भएका १० जनालाई १५ हजार र पाँच जना भन्दा बढी परिवार भएका १९ जनालाई २० हजारका दरले २९ घरका ३१ परिवारलाई ५ लाख ३० हजार नगद राहत दिइएको छ ।”
साथै तत्कालीन आश्रय स्थानका लागि राष्ट्रिय आपत् कालिन कार्यसंचालन केन्द्रलाई ३१ वटा टेन्ट तत्काल पठाउन माग गरिएको उहाँको भनाई छ । जिल्ला प्रशासनको विपद् कोष नै रित्तिने गरी अग्निपीडितलाई राहत दिइएको प्रजिअ थापाले उल्लेख गर्नुभयो । विपद् कोषमा बजेट शून्य भएकाले तत्काल आवश्यक बजेट व्यवस्थापनका लागि माग गरिएको छ ।
भविष्यमा कुनै समस्या भएको खण्डमा पनि राहत उद्धार गर्ने बजेट नभएकोले प्रदेश तथा सङ्घबाट जिल्ला प्रशासन कार्यालय जुम्लाको विपद् कोषमा बजेट उपलब्ध गराउन आवश्यक छ ।
प्रदेशबाट ५ लाखको राहत
गोठीगाउँका अग्निपीडितलाई कर्णाली प्रदेश सरकारले ५ लाख बराबरको राहत वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सांसद पदम रोकाया, दिनबन्दु श्रेष्ठ गोठीगाउँमा उपस्थित भएर राहत वितरण गर्नु भएको हो ।
जसमा चामल ७ क्वीइन्टल, दाल डेढ क्वीइन्टल, तेल ७ पेटी, कम्बल ९० पिस, पिपिफर्म ३ रोल, प्रेसर कुकर २८ थान र भाडा २८ थान गरी पाँच लाखको राहत वितरण गरिएको कानुन मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो ।
तर हेलिकप्टर रिर्जव गरी राहत वितरणमा आएको प्रदेश सरकारको टोली जिल्ला प्रशासनको भन्दा थोरै राहत दिएको छ । प्रदेश सरकारको राहत भन्दा आउने जाने खर्च बढी भएको अनुमान गरिएको छ ।
सांसद रोकायाको तलब अग्निपीडितलाई
कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराउनु भएको छ । बिहीबार अग्नि पीडितलाई गाउँमै पुगेर सांसद रोकायाले एक महिनाको तलब दिनु भएको हो । एक महिनाको तलब स्वरूप आउने ४२ हजार रुपैयाँ अग्नि पीडितलाई दिएको सांसद रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अग्नि पीडितको पिडामा थोरै भए पनि मलम लगाउने प्रयास गरेको छु । आगामी दिनमा आफूले सक्ने सबै सहयोग गर्छु । यस्तो विपत्तिमा सबै नागरिकले सक्दो सहयोग गरी मानवीयता देखाउन जरुरी छ ।” अग्नि पीडितलाई सांसद रोकायाले ४२ हजार बराबरको चामल, कम्बल, भाँडाकुँडा जस्ता तत्काल आवश्यक पर्ने सबै सामाग्री दिएका छन् ।
साथै, गोठीगाउँका अग्नि पीडितलाई जिल्लाका गैरसरकारी संस्थाहरूले आवश्यक राहत दिएका छन् । जसमा किर्डाक नेपालले बाल्टी, खोल, तन्ना, पिपि फर्म उपलब्ध गराएको छ । भने, रेडक्रसले कम्बल, भाडा, लत्ताकपडा, तथा त्रिपाल दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्