तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता व्यक्तिका परिवारलाई परिचयपत्र वितरण सुरु

बर्दिया । बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन आयोगद्वारा नेपालमा भएको १० बर्षे सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरणको काम बर्दिया जिल्लाबाट सुरु भएको छ ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजित कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बर्दियाका पाँच जना बेपत्ता परिवारकालाई परिचय पत्र हस्तान्तरण गरेर वितरण काम सुरु गर्नु भएको हो ।
परिचयपत्र वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री ज्ञवालीले आयोगले सुरु गरेको परिचयपत्र वितरणलाई सबै जिल्लामा सुरु गर्ने बताउनु भएको छ । परिचय पत्रको आधारमा पीडितलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नीति तथा योजना बनाएर अगाडी बढ्ने तयारी रहेको जानकारी गराउनु भएको छ ।
उहाँले अन्तर्राष्ट्रिय कानुन विपरीत शान्ति प्रक्रिया टुग्याँउन नसकिने भएकोले विस्तृत शान्ति सम्झौतालाई मुख्य आधार बनाएर काम गर्ने बताउनु भएको छ । सत्य थाहा पाउने पीडितका पहिलो अधिकारलाई सुनिश्चित गरेर मात्र मेलमिलाप र न्यायको प्रक्रियालाई छलफलमा अगाडि बढाउने कार्य गर्ने कुरामा मन्त्री ज्ञवालीले जोड दिनु भएको छ ।
कार्यक्रममा बेपत्ता व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुबेदीले माघ महिनामा तयारी सकेर अन्य जिल्लामा पनि परिचयपत्र वितरणको काम शुरु गरिने बताउनु भएको छ । हाल प्रतिनिधिमूलक रुपमा वितरण गरिरहेको जानकारी गराउनु भएको छ ।
बर्दिया जिल्लाका पाँच जना बेपत्ता चैतेलाल चौधरी, राजनकुमार चौधरी, राजु बादी, हरि बहादुर चौधरी र ज्ञानबहादुर बादीको परिवारलाई गरी २१ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता व्यक्ति छानबिन आयोगमा पीडित परिवारले दिएको उजुरी अनुसार नेपाल भरीबाट ३ हजार २ सय २० व्यक्तिलाई बलपूर्वक बेपत्ता पारिएको बताइन्छ । आयोगमा परेका २ हजार ५ सय २९ जनाको उजुरीको अनुसन्धान भइरहेको छ ।
बर्दिया सशस्त्र द्वन्द्वको क्रममा सबै भन्दा बढी बलपूर्वक व्यक्ति बेपत्ता पारिएको जिल्ला हो । बेपत्ता आयोगको तथ्याङ्क अनुसार बर्दियामा २ सय ८८ जना बेपत्ता पारिएका व्यक्ति रहेका छन् । यस मध्यको २ सय ५५ जनाको विस्तृत अध्ययन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button