तपाईँ सुन्दै हुनुहुन्छः

आरोप पत्र फिर्ता र चुनावमा सहभागी हुने सर्तमा पार्टी एकता हुनसक्छ : उप प्रधानमन्त्री पोखरेल  

सुनसरी । सङ्घीय सरकारका उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले पार्टी भित्रमा आएको विवाद समाधानका लागि दुई सर्तमा साथीहरू सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।
सुनसरीको दुहबीमा आयोजित जिल्ला स्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिनुपर्ने र वैशाख १७ र २७ गते हुने चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको हो ।
अहिले पनि जुन अराजकता, अस्थिरता र विवाद सिर्जना गर्न खोजिएको छ, त्यो देश र जनताको भावनामा चोट पुर्‍याउन खोजिएको जस्तो छ, एकतालाई कायम राख्ने हो भने यी दुई कुरा गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान प्रधानमन्त्री समेत रहनु भएको केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा नै आधिकारिक पार्टी भएको बताउनुभयो ।
निर्वाचन आयोगले समेत प्रस्ट रुपमा निर्णय दिएकाले ओली नेतृत्वको पार्टी नै नेकपाको आधिकारिक पार्टी भएको बताउनु हुँदै कोही कसैले द्विविधामा रहन नहुने बताउनुभयो । उहाँले जनतासँग ताजा जनादेशको लागि निर्वाचन घोषणा गरिएकाले समयमा नै निर्वाचन हुने र त्यसमा ओलीको हस्ताक्षर भएको उम्मेदवारले चुनाव लड्ने र जित्ने समेत दाबी गर्नुभयो ।
उहाँले ओलीलाई मानेर आउनेहरूलाई स्वागत गर्ने र जानेहरूलाई अर्को कुनै नामको पार्टी खोल्न र चुनाव चिन्ह लिएर आउन चुनौती दिनुभयो । नेता पोखरेलले अव हुने चुनावमा नेकपाको चुनाव चिन्ह सूर्य हुने भएकाले हल्लाको पछि नलाग्न समेत अपिल गर्नुभयो । देशभर जनलहर रहेकाले आफ्नै पार्टी जित्ने दाबी गर्नुहुँदै जनता अदालत भएकाले अदालतको फैसला पुरस्कार वा दण्ड जे दिए पनि नेकपा स्वीकार गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button