अवहेलना मुद्दामा ७ दिने लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुङ्गानालाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अदालतको अवहेलना मुद्दामै ७ दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन भनेको छ ।
सर्वोच्च अदालतमा दर्ता भएका छुट्टाछुट्टै रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? सो बारे प्रधानमन्त्री, ४ पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख ढुङ्गानालाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको हो ।
४ पूर्व प्रधानन्यायाधीशहरूको संयुक्त विज्ञप्तिलाई लिएर उहाँहरू विरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो पूर्व सभामुख ढुङ्गाना विरुद्ध उहाँले दिनुभएको अभिव्यक्तिलाई लिएर अधिवक्ता राजाराम घिमिरेले सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा दर्ता गर्नुभएको थियो ।
यस्तै प्रतिनिधिसभा विघटनको मुद्दासँग जोडेर प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर उहाँ विरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दर्ता गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्