दुहुना गाई उपहार पाउने भएपछि नगर छाडेर गाउँमा
धनकुटा । सामान्यतया मान्छेहरू गाउँ छाडेर शहर पस्ने गर्दछन् तर धनकुटाको छथर जोरपाटी गाउँपालिकामा भने नगर छाडेर गाउँमा बसाई सरेर आउने क्रम बढ्न थालेको छ ।
बसाइसराई रोक्नका लागि गाउँपालिकाले दुहुना गाई उपहार कार्यक्रम सञ्चालनमा ल्याएपछि जिल्लाका नगर र अन्य जिल्लाहरूबाट गाउँमा कृषि कर्म गर्न बसाई सरेर आउन थालेका हुन् ।
गत आर्थिक बर्ष ०७६/०७७ बाट पालिकाले सञ्चालन गरेको ‘जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम शुरु गरेको थियो ।
उक्त कार्यक्रम सञ्चालनमा आएपछि गत बर्ष जिल्लाका ३ नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिवार छथर जोरपाटी बसाई सरेर आएका थिए ।
पशुपन्छी विकास शाखाका अधिकृत राजकुमार राईका अनुसार धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट गत बर्ष ९ परिवार बसाई आएका थिए ।
यस बर्ष गएको पुस २५ गते पालिकाले आव्हान गरेको सार्वजनिक सूचनापछि ४ परिवारले बसाई आउन आवेदन गरेको राईले जानकारी दिनुभयो ।
माघ १५ गते समय सीमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट २, महालक्ष्मी नगरपालिका धनकुटाबाट १ जना र सङ्खुवासभाको मादी नगरपालिकाबाट १ जनाले आवेदन दिएको राईले जानकारी दिनुभयो ।
पालिकाले रितपूर्वक बसाई सराई आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार अनुदान दिने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्