कृषिलाई व्यवस्थित र मर्यादित बनाउन माग
काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन किसानहरूको एक समूहले माग गरेको छ ।
सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले खाद्य सम्प्रभुतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको हो ।
समूहको तर्फबाट बुधवार जारी विज्ञप्तिमा कृषि नेपालको जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व रक्षा गर्न, खाद्य सम्प्रभुताको सम्मान गर्न, जैविक विविधता र पर्यावरण संरक्षण गर्न, आत्मनिर्भरमुखी रैथाने खेतीपाती पद्धतिको संरक्षण गर्न, कृतिम रसायन र जिएमओको उच्चतम प्रयोगबाट मानव स्वास्थ्य बचाउन आग्रह गरिएको छ ।
समूहले नेपाली संस्कृतिमा आधारित कृषि प्रणालीको संरक्षण गर्न, खेतीयोग्य जमिनको स्वामित्व हस्तान्तरण रोक्न, किसानको आंशिकता पूर्ण स्वरोजगारको संरक्षण गर्न, जलवायु परिवर्तन, उत्पादनको साधन भूमि र प्राकृतिक स्रोतमाथि विदेशी हस्तक्षेप हुन नदिन सम्बद्ध एवं सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
समूहका संयोजक उद्धव अधिकारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपालको विशिष्ट पहिचान र दुईतिहाई नागरिकको पारिवारिक पेसा र उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने र नेपालको मौलिक कृषि प्रणालीमाथि नै प्रहार हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्