तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक मुद्दामा एकता गरेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौँ । निजी क्षेत्रका ३ व्यावसायिक संस्थाका अध्यक्षहरूले आर्थिक मुद्दाहरूमा एकता गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको  अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षले सहकार्य र एकता गरेर अघि बढ्ने घोषणा गर्नुभएको हो । उहाँहरूले पछिल्लो समयमा निजी क्षेत्रहरूले आर्थिक मुद्दामा एकताका साथ अघि बढेको बताउँदै आगामी दिनका लागि तीनै पक्ष तयार भएको बताउनुभयो ।

कार्यक्रममा  साउथ एसियन वाच अन ट्रेड एन्ड इकोनमिक्स एन्ड इन्भाइरोमेण्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले, मौद्रिक नीति, आर्थिक क्षेत्रको सुधार, विदेशी लगानी, उत्पादनहरूको संरक्षण र प्रवर्द्धन, कानुनमा एकरूपता कायम, साना तथा मझौला र महिला उद्यमशीलता विकास, लागत घटाउने प्रक्रिया, चुनावमा दिइने चन्दाको पारदर्शिता लगायतमा आगामी दिनमा निजी क्षेत्र एकताबद्ध भई अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले तीनवटै संस्थाबिच ९० प्रतिशत विषयमा कार्यगत एकता र सहकार्य हुनसक्ने बताउनुभयो । उहाँले कार्यगत एकताका लागि उद्योग वाणिज्य महासङ्घले उद्योग परिसंघ र चेम्बर अफ कमर्शलाई एकता प्रस्तावको मस्यौदा पटाइसकेको पनि जानकारी दिनुभयो ।

नेपाल चम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको कार्यगत एकताको लागि आफूहरू तयार रहेको बताउनुभयो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले नेपालको आर्थिक क्षेत्रलाई उकास्न निजी क्षेत्रले प्रमुख भूमिका खेले पनि सरकारले भने प्राथमिकता नदिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button