पर्सामा ४० बिगाहाको गाँजा फडानी
वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा फडानी गर्ने क्रमलाई पर्सा प्रहरीले तीव्रता दिएको छ ।
विगत दश वर्षदेखि पर्सामा गाँजाखेती गर्ने प्रचलन बन्द रहेको अवस्थामा यसपटक लुकाइछिपाई अवैध रुपमा किसानहरूले गाँजा खेती गरेको भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म करिब चालीस बिघाको गाँजाखेती नष्ट गरिसकेको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो ।
विशेष गरी अहिले पर्साको जङ्गल क्षेत्रमा जोडिएको गाउँपालिकामा गाँजाखेती गरिएको सूचना प्राप्त भएको छ ।
यसै क्रममा ठोरी गाउँपालिकाको वडा नं. ३ र ४ को ब्रह्मनगर, विजयवस्तीमा ठुलो परिमाणमा गाँजा खेती गरिएको बताइएको छ ।
सुरक्षाकर्मीहरुले सडक छेउमा रोपिएको गाँजा फडानी गरेको तर जङ्गलसँग रहेका बस्तीहरूको गाँजा फडानी नगरेको स्थानीयको आरोप छ ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले ठोरी क्षेत्रमा साँढे चार बिघा गाँजा खेती नष्ट गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्