‘प्रदेश २ लाई बालबालिका अपराधमुक्त बनाउन सहकार्य जरुरी’
जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले प्रदेश २ लाई बालबालिका अपराधमुक्त प्रदेश बनाउनका लागि तीन तहका सरकारका बिचमा अधिकतम सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
मन्त्री महतोले राष्ट्रिय बाल अधिकार परिषद्ले आज जनकपुरधाममा आयोजना गरेको बाल अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरीय छलफल कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको सडक बालबालिकामुक्त देश बनाउने अभियान सफल बनाउनका लागि मन्त्रालय लागि परेको बताउँदै प्रदेश नंं २ मा यस्ता प्रकारका बालबालिका भए अभिलेख राख्नका लागि पालिकाहरूलाई आग्रह गर्नुभयो ।
मन्त्री महतोले अभिभावकविहीन बालबालिका तथा ज्येष्ठ नागरिकको अभिभावकत्व नेपाल सरकारले लिनका लागि तयार भएको बताउँदै सके नातामा पर्नेले संरक्षण गरेको खण्डमा त्यस्ता बालबालिकाका लागि मासिक रुपमा २ हजार भरण पोषण भत्ता सरकारले दिने बताउनुभयो ।
उहाँले महिला, बालबालिकाको क्षेत्रमा विश्वका अति उत्कृष्ट संविधानमा नेपालको संविधान पर्ने गरेको बताउँदै यसको कार्यान्वयनमा सबै सरकारको समान दायित्व भएको बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बालबालिकामाथि हुने कुनै प्रकारको हिंसा सह्य नहुने बताउँदै हिंसा भएको खण्डमा तत्काल स्थानीय प्रहरी तथा प्रशासनमा खबर गर्नका लागि आग्रह गर्नुभयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज घरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूले बालबालिकाको विषयमा भएको कामकाज तथा समस्याहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्