विपन्न बस्तीका नागरिकहरूलाई न्यानो कम्बल वितरण
कञ्चनपुर । जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले विपन्न बस्तीका नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ खल्ला बस्ने १२ जना र मटेना बस्ने १० जना गरी २२ जना लोपोन्मुख राउटे समुदायका व्यक्तिसहित ७० वर्षभन्दा बढी उमेर समूहका विपन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय एकल महिला गरी जम्मा ५० जनालाई बुधवार न्यानो कम्बल वितरण गरिएको हो ।
चिसोको कारण विपन्न असहाय व्यक्तिहरूको जीवन कष्टकर नहोस्, चिसोको कारण नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने नेपाल सरकारको नीति अनुरूप न्यानो कम्बल वितरण गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो । उहाँका अनुसार, दुर्गम क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायका व्यक्ति चिसोको कारण कष्टकर जीवन बिताउन बाध्य रहेको र जोखिममा रहेको जानकारी पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरको टोली त्यहाँ पुगेको हो ।
कम्बल वितरण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्