तपाईँ सुन्दै हुनुहुन्छः

अछाम, चौरपाटीको कोदो बजारीकरण गरिँदै, ब्याग तयार

अछाम । अछामको चौरपाटी गाउँपालिकाले उत्पादन गरेको कोदोको प्याकेजिंग र बजारीकरणका लागि कृषि ज्ञान केन्द्र मंगलसेनद्वारा गाउँपालिकालाई प्लास्टिक ब्याग हस्तान्तरण गरिएको छ ।

कृषि ज्ञानकेन्द्र मंगलसेनको ८५ प्रतिशत र गाउँपालिकाको १५ प्रतिशत लागतमा ५, १० र १५ के.जी का गरी २ हजार ४ सय ब्याग गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदलाई हस्तान्तरण गरिएको छ ।

कृषि ज्ञानकेन्द्र मंगलसेन कृषि प्रसार अधिकृत प्रमोद चौधरीले हस्तान्तरण गर्नुभएको ब्यागमा “अर्ग्यानिक कोदोको परिकार खाऊँ, स्वच्छ जीवन बिताऊँ” नारा लेखिएको छ ।

ब्यागमा चालु आर्थिक बर्ष २०७७–७८ को वार्षिक कोदो अनुदान कार्यक्रम अन्तर्गत फलेको कोदो कुटेको धानसँग सटही गरेको थियो । सटहीबाट चौरपाटी गाउँपालिकाका सात वटै वडाका कृषकबाट १५५ क्विन्टल ५० किलोग्राम कोदो सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद जानकारी दिनुभयो । सङ्कलित कोदो कैलाली, कञ्चनपुरदेखि काठमाडौंसम्म पठाइने गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।

फलेको कोदो कुटेको धानसँग सटही गर्दा कृषकमा थप हौसला भएको कृषकहरूको भनाई छ । प्रति कट्टा ६ सय का दरले विक्री भएको कोदो यो वर्ष चामलसँग सटही गर्न पाउँदा कृषकलाई राहत भएको चौरपाटी गाउँपालिकाका कृषि शाखा प्रमुख झप्पर भुलले बताउनुभयो ।

स्थानीय स्तरमा हेलाका रुपमा हेरिने कोदोमा कार्बोहाइड्रेट, फलाम लगायतको पौष्टिक तत्त्व प्रशस्त पाइने भन्दै पोषणविद्ले यसको प्रयोगलाई जोड दिन थालेका छन् । यसको रोटी, ढिँडो, माडा लगायतका परिकार बनाई उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button