तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना खोप लगाएकाले भने–“खोप सुरक्षित छ, सबैले ढुक्क भएर लगाउनुस”

तनहुँ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालय तनहुँका विरेन्द्र कुमार चौधरी, महिला स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ खोप लगानुभयो । उहाँहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताउनुभयो ।उहाँहरुले सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् ।

सो अवसरमा खोप सुरक्षित रहको र सबैलाई लगाउन खोप लगाउनुभएका चौधरीले आग्रह गर्नुभयो । ’खोप लगाउने १० मिनेट अघि सम्म पनि त्रास कै अवस्था रहेको थियो ।’ चौधरीले भन्नुभयो ’मनमा त मलाई पनि फिल भएको थियो केहि हुन्छ कि भनेर तर जब खोप लगाईसकेपछि चाहिं केहि भएको छैन ।’

उहाँले अगाडी भन्नुभयो ’दुखेको पनि छैन, सामान्य छु त्यसैले पहिलो प्राथमिकतामा पर्नुभएको सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गर्छु ।’ उहाँले भन्नुभयो ’सबैले खोप लगाउनु र एक महिना अर्को डोज नलगाएसम्म सुरक्षित भएर बस्नुपर्छ ।’ उहाँले भन्नुभयो ’खोप सुरक्षित छ, सबैले ढुक्क भएर लगाउनुस् ।’

तनहुँ जिल्ला भर कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’खोप लगाईसकेपछि स्वास्थ्यकर्मीको रोहबरमा आधा घण्टा राखेर सुरक्षित अवस्थामा मात्रै पठाउछौ ।’

तनहुँमा बुधबारदेखि आगामी १९ गते सोमबार सम्म खोप अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई पहिलोचरणमा खोप दिइने प्रमुख अधिकारीले बताउनुभयो ।

’निजि क्षेत्रका स्वास्थ्यकर्मीलाई समेत खोप दिने कार्यक्रम रहेको छ ।’ प्रमुख अधिकारीले भन्नुभयो ’जिल्लामा खोप लगाउन १६७९ जनाले खोप लगाउन नाम दर्ता गराएका छन् ।’

जिल्लामा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप मंगलबार आइपुगेको हो । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप मध्ये १७१ भायल खोप आएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार एक भायलबाट १० जनालाई खोप लगाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button