तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघ तनहुँको साधारणसभा सम्पन्न, १२ बुँदे घोषणापत्र जारी

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२ औं साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अर्नुभेको थियो ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले जिल्लाको सञ्चारमाध्यमको प्रबद्र्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लाका सञ्चारमाध्यमलाई विगतदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने न्यौपानेले प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख न्यौपानेले वर्तमान सरकारको असंवैधानिक कदमको सञ्चारमाध्यमले पनि कलमको माध्यमबाट आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शीता खोजी गरिने बताउनुभयो । विष्टले वर्षौसम्म आम्दानी गर्ने तर श्रमजीवि पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शीता खोजी गरिने बताउनुभयो ।

“वर्षौसम्म व्यापार गरेर पैसा कमाउने तर कोभिड सङ्कटलाई देखाएर पत्रकारलाई तलब नदिने सञ्चारमाध्यम विरुद्ध आन्दोलन शुरु भएको छ,” उहाँले भन्नुभयो , “महासङ्घ सदैव श्रमजीवि पत्रकारको पक्षमा छ ।” नागरिक अधिकार विरोधी कदममा महासङ्घ मूखदर्शक भएर बस्न नसक्ने विष्टको भनाई थियो ।

महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नविन कुइँकेल, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राख्नुभएको थियो ।
तीन अक्षयकोष थपियो

पत्रकार महासंघ तनहुँमा पुरस्कारका लागि तीन अक्षयकोष स्थापना गरिएको छ । महासंघको १२ औं वार्षिक साधारण सभाका क्रममा विभिन्न व्यक्तिहरुले पुरस्कारका लागि अक्षयकोष स्थापनाका लागि रकम सहयोग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनाल तथा पूर्व अध्यक्ष प्रदीप काफ्लेले अक्षयकोष स्थापना गर्नुभएको हो । वरिष्ठ अधिवक्ता वाग्लेले आफ्ना पिता चिरञ्जिवी तथा माता हरिमायाको स्मृतिमा चिरनहरि पत्रकारिता अक्षयकोष स्थापनाको घोषणा गरेका गर्नुभएको ।

एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार राशीको कोषले अदालत तथा वातावरणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नेछ ।

यसैगरी महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्लेले आफ्ना पिता स्वर्गीय पुरुषोत्तम काफ्लेको स्मृतिमा एक लाख रुपैयाँको पुरुषोत्तम काफ्ले स्मृति कृषि, सहकारी तथा युवा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापनाको घोषणा गर्नुभयो। कोषले कृषि, सहकारी तथा युवा पत्रकारिताका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेछ ।

यस अघि पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले आफ्नी दिवंगत पत्नी भवानी खनालको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गर्नुभएको थियो । उहाँले दुई लाख रुपैयाँ पुरस्कारका लागि महासंघलाई रकम पनि शाखालाई प्रदान गरिसक्नुभएको छ।

यस अघि नै महासंघमा सुरज गुरुङ स्मृति, टिकानिधि ढुंगाना वेदव्यास पराशर तथा भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष सञ्चालित छन् ।

१२ बुँदे घोषणापत्र जारी : न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको छ । शाखाको मङ्गलबार सम्पन्न बाह्रौ साधारणसभाका अवसरमा जारी १२ बुँदे घोषणापत्र अनुसार तनहुँ जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीलाई सञ्चारगृहहरुले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको हो ।

घोषणापत्रमा कोभिड १९ को प्रभावले रोजगारी गुमाएका पत्रकारहरुलाई पुर्नबहाली र पारिश्रमिक रोकिएकालाई भुक्तानी र पेशागत स्थायीत्वको लागि सञ्चारगृहसँग माग गरिएको छ । तनहुँ जिल्लाभित्र रहेका सबै स्थानीय तहहरुबाट प्रदान गरिने विज्ञापनलाई नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामार्फत् जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुलाई समानुपातिक र एकद्वार प्रणालीबाट लागू गर्न माग गरिएको छ ।

मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निदानको लागि वार्ता र संवादको माध्यमबाट समाधान गरी संवैधानिक रिक्तताको अन्त्य गर्न माग गर्दै घोषणापत्रमा पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न माग गरिएको छ । घोषणापत्रमा पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै हरेक स्थानीय तहमा दक्ष पत्रकार उत्पादन र ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमै क्षमता विकास कार्यक्रम सञ्चालनका लागि सहयोग पु¥याउन स्थानीय तह तथा सरोकारवालाहरुसँग अनुरोध गरिएको छ ।

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्दै प्राकृतिक स्रोतसाधनमाथि भइरहेको अवैध उत्खनन् तत्काल रोक्न माग गर्दै तनहुँ जिल्लाको पर्यटन प्रबद्र्धनका लागि मानुङकोटदेखि पुलिमराङसम्म आयोजना गरिएको व्यास अल्टूा म्याराथन सफल बनाउन आ–आफ्नो सञ्चार माध्यममार्फत् प्रचारप्रसार गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

तनहुँको पत्रकारिता क्षेत्रको वृत्तिविकासमा योगदान पु¥याउन अक्षयकोष स्थापना गर्नुहुने रणबहादुर गुरुङ, भाग्यशाली ढुङ्गाना, कृष्णकुमार श्रेष्ठ, मुक्तिनाथ खनाल, कमलामोहन वाग्ले, प्रदीप काफ्लेलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधि तयार गर्न तनहुँ शाखालाई अनुरोध गरिएको छ ।

घोषणापत्र लेखन समितिमा शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलको संयोजकत्वमा पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, उपाध्यक्ष सोनी शर्मा, पूर्व सचिव बसन्त कंडेल र प्रदेश पार्षद् पवन पौडेल सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button