तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा सम्बन्ध विच्छेदका घटनामा वृद्धि

अछाम । नयाँ मुलुकी अपराध संहितामा सम्बन्ध विच्छेदको प्रावधान खुकुलो पारेसँगै अछाममा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ ।

मुलुकी अपराध संहितामा पुरुषले चाहेमा पनि कानुन अनुसार सम्बन्ध विच्छेद गर्न सकिने प्रावधान छ । पहिले महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था थियो । साथै जिल्लामा हिंसा पीडित महिलाहरू सचेत हुनुले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत अछामले जनाएको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ को पछिल्लो साढे ६ महिनाको तथ्याङ्कमा अदालतमा सम्बन्ध विच्छेदका ८ मुद्दा दर्ता भएका छन् ।

सम्बन्ध विच्छेदका ८ मुद्दा मध्ये २ वटा फर्छ्योट भएका र ६ वटा बाँकी रहेको जिल्ला अदालत अछामका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा जम्मा १० वटा मात्रै उजुरी दर्ता भएकोमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा सो सङ्ख्यामा उजुरी दर्ता हुनुले सम्बन्ध विच्छेदका घटना बढ्ने अनुमान गर्न सकिने सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो ।

उहाँले सम्बन्ध विच्छेदका घटना वृद्धि हुनुमा जिल्लामा बालविवाह गर्नेको सङ्ख्या बढ्दै जानु र हिंसा भएका महिलाहरू हक अधिकारका बारेमा जागरूक हुँदै जानु प्रमुख कारण भएको बताउनुभयो ।

महिला र पुरुष सचेत हुनुले पनि कसैबाट हिंसा हुने बित्तिकै अलग बस्ने चाहानाले पनि यो क्रम बढिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्दाहरुको १ वर्षसम्म छलफलकै क्रममा हुनुभएकाले सकेसम्म मिलाउने गरी मुद्दाको फर्छ्योट गर्ने गरिएको छ । उहाँले कतिपय मुद्दा कानुनी हिसाबले पनि ढिलो हेर्नु पर्ने भएकोले चाँडो हेर्न नपाइने उल्लेख गर्नुभयो ।

जिल्लाका कतिपय महिला अधिकारकर्मीले पुरुषले सम्बन्ध विच्छेद गर्न थालेपछि कतिपय महिला थप हिंसामा पर्ने गरेको समेत बताउने गरेका छन् । ४ सन्तान भएकी एक महिलाले सम्बन्ध विच्छेद गर्न नचाहँदा पनि बहुविवाह समेत गरेका पुरुषले सम्बन्ध विच्छेद गरेका र त्यसलाई रोक्न खोज्ने आफ्नो पहल सफल नभएको महिला अधिकारकर्मी लक्ष्मी बोगटीले बताउनु भयो । श्रीमानले बहुविवाह गरे पनि महिलाको सम्बन्ध विच्छेद नगर्ने मनसाय थियो, तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको अधिकारकर्मी बोगटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button