तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मतदाता नामावली अद्यावधिक कार्य शुरु

भोजपुर । सरकारले मध्यावधि निर्वाचनको मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तीव्रता दिएको छ ।

कार्यालयले आगामी निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक कार्य शुरु गरेको हो । निर्वाचनको लागि मतदाता नामावली अद्यावधिकका कार्यका विषयमा अन्तरक्रिया समेत गरिएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा भएको अन्तरक्रियामा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध विषयमा छलफल भएको छ । मतदाता नामावली अद्यावधिकको कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष सक्रिय हुनु पर्ने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।

निर्वाचनको कार्य तालिका अनुसार निर्वाचन आयोगबाट उपलब्ध मतदाता नामावलीमा रहेका त्रुटिहरू अद्यावधिक गर्ने कार्य शुरु भएकाले सो कार्यलाई सबै पक्षबाट सहयोग गरिनु पर्ने जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवन कुमार रेग्मीले बताउनुभयो । प्रमुख रेग्मीले भन्नु भयो, “मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो पर्न गएका नामावली हटाउने, उजुरी लिने लगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग सहित समन्वय र प्रचार प्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक छ ।”

प्रतिनिधि सभा विघटन भए पछि सरकारले पहिलो चरण अन्तर्गत वैशाख १७ र दोस्रो चरणमा वैशाख २७ मा मध्यावधि निर्वाचनको मिति तय गरेको छ । आगामी माघ १५ गते देखि २१ गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्य शुरु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button