प्राविधिक विषयका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै

सल्यान । नेपालका सामुदायिक विद्यालय भनेपछि धेरैले नाक खुम्च्याउने गर्दछन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नभएको भन्दै धेरै अभिभावकहरूले आफूहरुले खाई नखाई छोराछोरीहरूलाई निजी विद्यालय पढाउने गरेका छन् । तर कतिपय यस्ता सामुदायिक विद्यालयहरू पनि छन् जहाँ विद्यालयमा विद्यार्थीको चाप बर्षेनि बढ्दो छ भने शैक्षिक गुणस्तरमा समेत अब्बल हुँदै गई रहेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अहिले जिल्लाका विभिन्न विद्यालयहरूमा प्राविधिक विषयहरू पढाउन थालिएको छ । जसले विद्यार्थीको चाप मात्र बढेको छैन गुणस्तरमा पनि सुधार आएको छ ।
विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा आकर्षण गर्न शारदा नगरपालिकाको शिवजन माध्यमिक विद्यालयले आइएस्सी एजी, कृषि जेटिए, भेटनरी र वन विज्ञान सञ्चालन गरेको छ । जहाँ विद्यार्थी पढ्दै सिक्दै आइरहेका छन् ।
प्राविधिक शिक्षा सुरु गरेका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै अभियान सुरु भएको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो । स्वदेशमै उद्यम गर्न प्रेरित गर्न विद्यालयमा पढ्दै सिक्दै सुरु गरिएको उहाँको भनाई छ । आर्थिक विपन्नताका कारण विद्यार्थीको आकर्षण घट्दै गएपछि प्राविधिक शिक्षालाई जोड दिइएको हो । तीन वर्षे आइएस्सी एजी मा १०४, कृषि जेटिएमा २५ जना विद्यार्थीले अध्ययन गरिरहेको नेपालीको भनाई छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन प्राविधिक विषय निकै फलदायी भएको निराजन माध्यमिक विद्यालय सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले बताउनुभयो । विद्यार्थीको चाप अत्यधिक भएका कारण परीक्षाको माध्यमबाट विद्यार्थी भर्ना गर्ने गरेको उनको भनाई छ । विगतमा सामुदायिक विद्यालयमा विद्यार्थी पाउन निकै मेहनत गर्नुपर्थ्यो तर हिजोआज विद्यार्थीको चाप अत्यधिक हुँदा परीक्षा गराउनु पर्ने भएको छ ।
गत आर्थिक वर्षदेखि बाली विज्ञान पढाउँदै आएको त्रिभुवन जनता माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका च्युराका विद्यार्थी पढ्दै सिक्दै आइरहेका छन् । उनीहरूले उत्पादन गरेर विक्री समेत गर्ने गरेका छन् । प्राविधिक तर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती, च्याउ खेती गरी रहेको प्रधानाध्यापक गुमानसिं विष्टले बताउनुभयो ।
विद्यार्थीहरूलाई उत्पादनमा जोड्न र सिकेका कुरा कार्यान्वयनका लागि बाली विज्ञान निकै प्रभावकारी भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘सैद्धान्तिक साथै व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरूलाई खेती गर्न प्रेरित गरिने राम्रो उदाहरण हो ।’
जिल्लाका ७८ माध्यमिक विद्यालय मध्ये दुई दर्जन बढी विद्यालयमा प्राविधिक विषय पढाई हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्