बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण हुने
रुपन्देही।प्रयोगशाला अभावमा सामान्य जाँचका लागि काठमाडौं जानुपर्ने समस्या हटाउन रुपन्देहीको बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण हुने भएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण हुन लागेको उक्त प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गर्नुभएको छ ।
भवनको शिलान्यास गर्दै मन्त्री बरालले सामान्य प्रयोगशाला जाँचको लागि काठमाडौँ जाने भन्झटबाट अब यस क्षेत्रका बिरामीले मुक्ति पाउने बताउँदै सबैका लागि स्वास्थ्य सेवा सर्वसुलभ गराउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले कोभिड महामारीको समयमा हाम्रो घरदैलोमा यसरी प्रयोगशाला निर्माण हुनु खुशीको कुरा भएको बताउनुभयो ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमवहादुर सिँहले प्रदेश सरकार मन्त्रीस्तरको बैठकबाट पारित भएबमोजिम बुटवल उपमहानगरपालिकाबाट प्राप्त करीब १ विगाह जग्गामा बन्न लागेको यो जनस्वास्थ्य प्रयोगशालाको ४ तल्ले भवन आधुनिक, सुविधासम्पन्न हुने जानकारी दिंदै कोभिडका कारण कार्यमा विलम्ब भएकोमा क्षमायाचना गर्नुभयो । उहाँले उक्त भवन यहि सेप्टेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्