तपाईँ सुन्दै हुनुहुन्छः

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

टीकापुर ।  व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् ।

छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उहाँले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहनुभएको छ ।

व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उहाँले अहिले दैनिक नर्सरीबाटै रु २५० प्रतिकिलोमा बेर्ना बेचिरहनुभएको छ । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहनुभएको छ ।

अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसक्नुभएको छ । कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गर्नुभएको हो । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ ।

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उहाँले बेर्ना उत्पादन रोज्नुभएको हो । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्नुभएको छ ।

उहाँको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताउनुभयो ।

विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन् ।  टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button