तपाईँ सुन्दै हुनुहुन्छः

 हिमपात नहुँदा कृषि उत्पादन घट्ने चिन्तामा जुम्ली किसान

स्याउका बिरुवा काँटछाँट गर्दै किसान,  तस्बिरः सागर परियार

जुम्ला । माघ महिनाको दोस्रो साता बित्न लाग्दा पनि जुम्लामा हिमपात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । पुस माघ महिनामा हिमपात भएपछि स्याउ खेतीमा सिचाई हुने, समयमै सिचाई हुँदा स्याउ उत्पादन वृद्धि हुने र बालीनाली पनि सप्रिने गरेकोमा यसपालि माघ दोस्रो साता सम्म पनि हिमपात नभएपछि जुम्ली किसान उत्पादन घट्ने भन्दै चिन्तित भएका हुन् ।

जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ । सबै क्षेत्रमा सिचाइको सहज पहुँच छैन । पुस माघको हिमपातकै भरमा हिउँ सङ्कलन गरी खाडल बनाएर हाल्ने, हिउँ पोखरी निर्माण गरी सिचाई गरिन्छ । तर यसपालि हिमपात नभएपछि स्याउ बगैँचामा कसरी सिचाई गर्ने भन्नेबारेमा स्याउ किसान निकै चिन्तित भएका छन् ।

पातारासीका किसान तारा बहादुर बोहोरा भन्नुहुन्छ, “स्याउका नयाँ बिरुवा रोप्ने समय आउँदै छ ।  अहिले हिमपात भएको खण्डमा जमिनमा चिस्यान कायम भएर बिरुवा छिटो हुर्कनमा मदत हुने र स्याउ उत्पादनमा वृद्धि हुनुका साथै लेकाली तथा खेताली अन्नबालीलाई पनि राहत हुन्थ्यो । तर यसपालि हिमपात नहुँदा विगतको जस्तै स्याउ उत्पादन घट्ने चिन्ता छ ।”

जुम्लाका १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । गत वर्ष कालो तुसारोका कारण स्याउ उत्पादनमा ५० प्रतिशत गिरावट आएपछि किसान घाटामा परे । यसपालि बेलैमा हिउँ पर्ला, स्याउ बगैँचामा सिचाई गरौला, काँटछाँट गरौला भन्ने सोचका जुम्ली किसान हिमपात नै नहुँदा गत वर्षभन्दा स्याउलगायत अन्य बालीनाली उत्पादन घट्ने चिन्तामा रहेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले पुस माघको महिनामा जुम्लामा हिमपात हुन अति आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष हिमपात नभएकै कारण समयमै सिचाइ नपुग्दा स्याउ उत्पादन ५० प्रतिशत घटेको थियो । ३४/३५ करोड स्याउबाट मात्रै भित्रिने जुम्लामा गत वर्ष १६ करोड नपुग आम्दानी मात्रै भित्रियो । जुम्लाको कृषि उत्पादन वृद्धि हुन समयमै हिमपात, वर्षा आवश्यक छ । तर यसपालि अहिले सम्म हिउँ परेको छैन । यसले विगतको जस्तै स्याउ सिमी उत्पादनमा फेरी गिरावट ल्याउने सम्भावना देखिएको देवकोटाको भनाई छ । जुम्लाको छिमेकी जिल्ला हुम्लामा हिमपात भएपछि त्यहाँका किसान खुसीका साथ कृषि कर्म गर्ने तयारीमा छन् । तर जुम्लामा तराइको जस्तो तुवाँलो लागेर खडेरी पर्ने सम्भावना देखिएको छ ।

विगतमा धेरै हिउँ पर्‍यो भनेर दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका छन् । जलवायु परिवर्तनको कारण ढिलासम्म हिमपात नभएपछि किसान चिन्तित भएको कृषि विज्ञहरू बताउँछन् । किसानहरू हिउँ पर्ला सिचाई गरौला भनेर स्याउ बगैँचा काँटछाँट गरे पनि हिउँ नपर्दा निराश भएको तातोपानी कृषि शाखा संयोजक धर्मराज आर्चायले बताउनुभयो । उहाँका अनुसार जिल्लाकै स्याउ उत्पादन बढी हुने तातोपानी क्षेत्रका किसान हिउँ नपर्दा चिन्तामा छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button