तपाईँ सुन्दै हुनुहुन्छः

पटमारा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर र ल्याब सेवा सञ्चालन

बर्थिङ सेन्टर तथा ल्याब सेवा उद्घाटन गर्दै । तस्बिर सागर परियार ।

जुम्ला । स्थानीय सरकार सञ्चालन भएयता दुर्गमका गाउँ गाउँमा पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्यको पहुँच पुगेको छ । 

कुनै बेला पर्याप्त सिटामोलसम्म नहुने दुर्गमका स्वास्थ्य चौकीमा एकपछि अर्को गर्दै ल्याब सेवा, बर्थिङ सेन्टर सञ्चालन गरिरहेका छन् । खकार, रगत, दिशा पिसाब लगायत २०÷२१ प्रकारका समस्याहरूको परीक्षण गाउँकै स्वास्थ्य चौकीमा हुने भएपछि स्थानीय खुसी छन् ।
यहाँको पातारासी गाउँपालिकाले पटमारा स्वास्थ्य चौकीमा आइतबारदेखि ल्याब सेवा र बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा र पालिका अध्यक्ष लछिमन बोहोराले आइतबार ल्याब सेवा र बर्थिङ सेन्टरको संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
जिसस काव प्रमुख कार्मा बुढाले दुर्गमका नागरिकको समस्या बुझेर गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सुचारु गरेर नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा सदरमुकाम जान असहज थियो । जसका कारण अधिकांश महिला घरमै सुत्केरी हुने गर्दर्थे । सदरमुकाम गए पनि महँगो खर्च लाग्थ्यो । तर अब गाउँमै ल्याब, बर्थिङसेन्टर सञ्चालन भएपछि नागरिकले राहत महसुस गर्ने छन् ।”
गाउँमै बर्थिङ सेन्टर हुँदा, आमा तथा बच्चाको सुरक्षासँगै शिशु मृत्युदर घटाउने सरकारको लक्ष्य पनि सफल हुने उहाँको भनाई छ ।
पातारासीका प्राथमिकता क्षेत्र भनेकै स्वास्थ्य, पर्यटन कृषि र जलविद्युत क्षेत्र हो । अध्यक्ष लछिमन बोहोराले भन्नुभयो, “जलविद्युतमा जिल्लाकै पहिलो स्थानमा छौँ । भौगोलिक विकटताले गर्दा स्वास्थ्यको सम्मान पहुँच थिएन । गर्भवती महिलाका पीडा बुझ्दै । अन्य नागरिकका पिर मर्का मनन गर्दै ल्याब सेवा र बर्थिङसेन्ट एकैसाथ सञ्चालनमा ल्याएका छौं ।”
बर्थिङ सेन्टर तथा ल्याब सेवा उद्घाटन गर्दै । तस्बिर सागर परियार ।
पूर्वाधार, जनशक्ति तथा उपकरण सहितको ल्याब सेवा र बर्थिङ सेवा सञ्चालनमा आएकोले अब पातारासिका नागरिकलाई सदरमुकाम भौँतारिने अवस्थाको अत्य भएको अध्यक्ष बोहोराको दाबी छ ।
पालिका भरिका करिब ३४ सय घरधुरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुराउने गरी काम भइरहेको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार पटमारा स्वास्थ्य चौकीबाट ६ र ७ नम्बर वडाका सबै नागरिकले सेवा लिने छन् ।
वर्थिङसेन्टर सञ्चालन हुँदा घरमै सुत्केरी गराउने, अस्पताल नजाने, आमा तथा बच्चालाई जोखिम हुनेलगायतका सबै समस्या अन्त्य हुने विश्वास गरिएको बुढ्थापाले उल्लेख गर्नुभयो ।
हालसम्म पातारासी गाउँपालिकाका छुमचौर, डिल्लीचौर र पटमारा गरी तीन वटा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button