जाजरकोटमा चुनावको तयारी

जाजरकोट। जिल्ला निर्वाचन कार्यालय जाजरकोटले वैशाख १७ र २७ को निर्वाचनको तयारी अगाडि बढाएको छ । अहिले जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरिएको जाजरकोटका निर्वाचन अधिकारी डिलबहादुर कार्कीले बताउनुभयो ।
२०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्ला भर ८३ हजार ९ सय ३७ मतदाता संख्या रहेको र अहिले ९५ हजार ७ सय ९१ मतदाता रहेका छन् । सात स्थानीय तह र ७७ वटा वडा रहेको जिल्लामा ८५ वटा मतदान स्थल र १ सय १६ वटा मतदान केन्द्र रहेका छन । भने १९ केन्द्र थप गरेर १ सय ३५ केन्द्र निर्धारण गरिएको छ ।
माघ १५ गतेदेखि २१ गतेसम्म सात वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि हटाउन, हालसम्म जिल्लामा सङ्कलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी वैशाखमा हुने निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली अद्यावधिकको काम शुरु गरिएको निर्वाचन अधिकारी कार्कीले जानकारी दिनु भयो ।
तोकेकै मितिमा निर्बाचन गराउन जिल्लाको सुरक्षा ब्यबस्थालाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो । निर्वाचन कार्यालयमा ५ दल दर्ता भए पनि हालसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपा पार्टी सक्रिय रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्