दबाबमा काम गर्दिन : डिएसपी ढुङ्गाना

रामेछाप । गत शुकबार मात्र रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी समाल्नु भएका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले आफु सेवामा रहुन्जेल कसैको दबाब र प्रभावमा काम नगर्ने समेत बताउनु भएको छ ।
आइतबार जिल्लाका प्रमुख राजनीतिक दल, सञ्चार माध्यम, उद्योग वाणिज्य सङ्घ र नागरिक समाजका प्रतिनिधिहरू सँग आफ्नै कार्यालयमा भेटघाट गरी डिएसपी ढुङ्गानाले सो कुरा व्यक्त गर्नु भएको हो ।
प्रहरी नागरिकहरूको सेवा र सुरक्षाको जिम्मेवार निकाय भएको र उसको सफलतामा स्थानीय सञ्चार माध्यम, राजनीतिक दल तथा सबै क्षेत्रको उतिकै हात रहेकोले त्यसको सफलताको लागि सबैलाई रचनात्मक सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । त्यसका लागि प्रहरी फोर्स भित्र केही समस्या भए आफूले पहिले त्यसलाई समाधान गर्दै कानुन भित्र रहेर आफूले प्रहरी शक्तिलाई नागरिक मैत्री बनाउने समेत बताउनु भयो ।
आफूले सत्य सेवा सुरक्षणमको नाममा शपथ लिएर सेवामा प्रवेश गरेको स्मरण गर्दै उक्त नारालाई सफल बनाउन भने आफूले कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । आफ्नो कार्यकालमा प्रहरीबाट प्रवाह हुने सबै खाले सेवा नागरिक मैत्री गराउने प्रतिबद्धता पनि जनाउनु भयो ।
कार्यक्रममा स्थानीय सञ्चार माध्यमका प्रतिनिधि बाहेक नेपाली काँग्रेस, नेकपा, राप्रपा, नेकपा माले र रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । सो अवसरमा बोल्ने सबैजसो वक्ताहरूले जिल्लामा रहेका समस्याहरु र तिनको समाधानका लागि नयाँ प्रमुख र प्रहरीको ध्यानाकर्षण गराएका थिए ।








प्रतिक्रिया राख्नुहोस्