मकवानपुरमा निर्वाचनको तयारी तीव्र

मकवानपुर । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि सुरक्षा योजना तयार गर्ने देखि मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन, स्थानीय तह र राजनैतिक दलसँग आवश्यक छलफललगायतका कार्यलाई तीव्रता दिइएको छ ।
निर्वाचनको सन्दर्भमा जिल्लामा निर्वाचन केन्द्र तथा निर्वाचन स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । आज बसेको मतदान केन्द्र तथा मतदान स्थल पुनरावलोकन समितिको बैठकले जिल्लामा एउटा मतदान केन्द्र र मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
पुनरावलोकन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको मनहरी गाउँपालिका–६ मा मतदान केन्द्र र मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा कायम रहेका मतदान स्थलहरू मध्ये मनहरी गाउँपालिका–६ स्थित राष्ट्रिय मावि सुनाचुरीलाई टुक्र्याई राष्ट्रिय सरस्वती आधारभूत मावि बाल भञ्याङ्ग र राष्ट्रिय मावि सुनाचुरी कायम गर्न सिफारिस गरेको प्रजिअ रिजालले बताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा मकवानपुरमा १६४ मतदान स्थल र ३२४ मतदान केन्द्र कायम रहेका थिए । जिल्लामा साबिकमा २ लाख ५५ हजार ६०४ मतदाता सङ्ख्या कायम रहेका थिए ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखलगायत जिल्लामा क्रियाशील राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्