‘घाँसको राजा’ वरसिमबाट आम्दानी बढाइँदै

देउखुरी । दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँस खेतीतिर आकर्षित भएका छन् ।
घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रिन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।
घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मुसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताउनुभयो । उहाँले यसरी घाँस लगाउन थालेको चार वर्ष भयो । हरियो हुँदा काटेर गाई भैँसीलाई खुवाउन पनि हुन्छ । सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस हो । “व्यावसायिक रुपमा चार वटा गाई पालेको छु, त्यसका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार एक बिघा खेतबाट एक याममा रु एक लाख आम्दानी हुन्छ । उहाँले गत वर्ष वरसिम घाँसको बीउ गत वर्ष रु एक लाख पचास हजारमा बेच्नुभएको थियो ।
घोराही– ६ का सीताराम चौधरीले पनि आफ्नो १८ कट्ठा खेतमा ‘घाँसको राजा’ वरसिम लगाउनुभएको छ । “घाँस खोज्न टाढा टाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, अहिले सजिलो भएको छ”, चौधरीले भन्नुभयो । हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झन्झटिलो नभएकाले घाँस खेतीमा आकर्षण बढेको हो ।
वर्षात्का समयमा लगाइएको धान काट्नुभन्दा अगाडि तोरी, मुसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराहीमा सबैले नजोतेरै छर्ने गरेका छन् । हरियो र सुकेको वरसीम घाँस गाई वस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ ।
घोराही –६ का कृषकले आठ कट्ठादेखि साढे दुई बिघा जमिनमा खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । मुसुरो, गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ । बागवानीअन्तर्गत तरकारी, फलफूल, फूल र घाँस खेती पर्छन् ।
घोराही– ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँस खेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिव शक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । जोत्न नपर्ने, मल दिनु पनि नपर्ने, धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ ।
घाँसका लागि भौँतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिव शक्ति उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले १२५ हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा वरसीम घाँस खेती गर्ने दाङ पहिलो जिल्ला हो । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ ।
ग्रेडिङ गरेर प्रतिकिलो रु दुई सयदेखि २५० सम्ममा बिक्री गर्ने गरिएका छ । प्रतिकट्ठा ३० देखि ३५ केजी सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । खास गरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको पाइन्छ । घाँस खेतीबाट गत वर्ष रु ५० लाख बराबरको बीउ सङ्घबाट बिक्री भएको सचिव अधिकारीले बताउनुभयो । केही किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष वरसिम घाँसको बीउ करिब रु ८० लाखको बिक्री हुने उहाँको अनुमान छ ।
वरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको दाङ जिल्लामा व्यावसायिकीकरण उत्पादन भएको घाँसको बीउ मोरङ, सर्लाही, चितवन, नवलपरासी, रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिक्री हुने गरेको सचिव अधिकारीले बताउनुभयो ।
साबिक सौडियार गाविस हाल घोराही –६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती सुरु गरिएको हो । हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा गाईँभैसीलाई खुवाउन र पोषणका लागि उत्तम मानिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेका पाइन्छ ।
यसका हरियो र सुकेको डाँठ दुवै खुवाउन सकिन्छ । जिल्लामा गाई, भंैसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि अर्थोपार्जनका लागि केही किसानले घाँस मात्रै खेती गरेको पाइन्छ । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको प्रमुख केसीको भनाइ छ ।
अहिले दाङ वरसिम घाँसको बीउ पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिनुभयो । बीउका लागि दाङ उपयुक्त वातावरण भएको उहाँको पनि भनाइ छ ।
दाङमा तुलसीपुर, सतबरिया, गढवा, लाल मटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर, सौडियार, घोराही र नारायणपुर क्षेत्रमा व्यावसायिक घाँस खेती हुने गरेको छ । दाङमा नेपियर, मकैचरी, जै, भेजलगायत जातका घाँस खेती भए पनि हावापानी राम्रो भएकाले वरसिम फस्टाएको छ । पछिल्लो समयमा जिल्लाका स्थानीय तहले पशुपालन किसानलाई अनुदानमा वरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । (खोजी समाचार)








प्रतिक्रिया राख्नुहोस्