शिक्षक–विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

सल्यान । शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि बनगाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय एक साताका लागि बन्द भएका छन् ।
नगरपालिकाको प्रभाकर माध्यमिक विद्यालय दवस्थल र गंगा प्राथमिक विद्यालय अम्रा बन्द भएका हुन ।
४६ जनाको स्वाव संकलन गरिएकोमा देवस्थलको प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जना र गंगा प्राविका तीन शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ । विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले बताउनुभयो ।
विद्यालयका अधिकांश विद्यार्थीलाई कोरोना हुनसक्ने सम्भावना देखिएपछि थप विद्यार्थीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरिएको उहाँले जानकारी गराउनुभयो । कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा झन्ठै ६ सय विद्यार्थी रहेकाले कसैलाई लक्षण देखिएमा तत्काल सम्पर्क राख्न उहाँले अभिभावकलाई आग्रह गर्नुभएको छ ।
शिक्षक र विद्यार्थीमा कोरोना भाइरस देखिएपछि बालबालिकाको पठनपाठन पूर्णरुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।
नगरपालिकाले प्रभारक माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको र निर्मलीकरणको काममा लापरबाही गरेकाले पनि विद्यार्थी र शिक्षकमा कोरोना देखिएको हुनसक्ने प्रधानाध्यापक यरीको भनाई छ ।
बनगाड कुपिन्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र सङ्क्रमित परिवारका अभिभावकले मास्क प्रयोग आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्