हेटौडा भेट्रान्स कपको उपाधि बगरभाइ खलक पोखरालाई
मकवानपुर । छैटौँ संस्करणको हेटौँडा भेट्रान्स कप (एट ए साइड) फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल खेलमा बगरभाइले सानो गौचरण काठमान्डौलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले नगद १ लाख १ हजार १११ रुपैयाँसहित शिल्ड, र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता सानो गौचरण काठमाडौँले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । खेलको दोस्रो हाफको ४० औँ मिनेटमा मनोज गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच बगरभाइका नरेश श्रेष्ठ घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवार्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानो गौचरणका चुन बहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलीप क्षेत्री उत्कृष्ट समूह कोच बगरभाइका अञ्जन देवकोटा, उत्कृष्ट खेलाडी बगरभाइका ईश्वर गुरुङ चन्द घोषित भएका थिए ।
उनीहरूलाई जनही ५ हजार पुरस्कार प्रदान गरिएको थियो । हेटौँडाको हुप्रचौरमा भएको खेलको विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरका मेयर हरि बहादुर महत र बाग्मती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्