तपाईँ सुन्दै हुनुहुन्छः

अछामका सात स्थानीय तह कोरोना मुक्त 

अछाम । अछाममा पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन हुन छाडेको छ । माघ ३ गते पछि जिल्लामा ७ जनाको मात्रै कोरोना परीक्षण भएको छ ।

दैनिक ९६ को सङ्ख्यामा कोरोना परीक्षण गर्ने क्षमता रहेको अछामको कमलबजार पिसिआर प्रयोगशालामा सुरुवातमा २४ घण्टामा १२८ जनाको कोरोना परीक्षण हुने गरेको थियो । तर पछिल्लो समयमा जिल्लामा स्वाब समेत सङ्कलन हुन छाडेको पाइएको छ ।

स्थानीय पालिकाले पनि कोरोना परीक्षण गर्न उदासीन बनेका र नागरिक पनि पछिल्लो पटक संयमित नभएकाले कोरोना परीक्षण हुन छोडेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयो ।

अस्पताल आफैँले पनि उपचारका लागि आउनेमध्ये शङ्कास्पद बिरामीको नमुना सङ्कलन गरेर जाँच गर्ने गरेको जिल्ला अस्पताल अछामले जनाएको छ तर बिरामी आफैले पनि कोरोना परीक्षण गर्न नमानिरहेको सूचना अधिकारी जोशीकाे भनाइ छ ।

यस्तै उहाँले जिल्लामा कोरोना सङ्क्रमण दर पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण सुरु भएको पनि जानकारी दिनुभयो । कोरोनाका हटस्पट मानिएका ठाउँमा एन्टिजेन परीक्षण सुरु भएको उहाँको भनाई छ ।

यता स्वास्थ्य कार्यालय र स्थानीय तहहरूबाट नमुना आउन छोडेपछि कमल बजार पिसिआर प्रयोगशालामा कोरोना परीक्षण नभएको कमल बजार पिसिआर प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

“केही समययता स्थानीय तहबाट नमुना आएका छैनन् । परीक्षण गरिने नमुनामध्ये सङ्क्रमित फेला पर्ने दर घटेको छ” विष्टले बताउनुभयो । प्रयोगशालाले एक सातायता कोरोना परीक्षणको सूचना पनि दिन छोडेको छ ।

अछाममा अहिलेसम्म १३ हजार ३ सय २७ जनाको कोरोना परीक्षण गरिएको छ । जिल्लामा १६ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएकोमा १६ सय ५० जना निको भई घर फर्किएका छन् । अछाममा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १३ जनामा झरेको छ ।

जिल्लामा ५ जनाको कोरोना सङ्क्रमणकै कारणले ज्यान गएको छ ।

त्यस्तै  अछाममा ७ वटा पालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । जिल्लाको ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

जिल्लाको कमल बजार नगरपालिकामा चार जना, चौरपाटी गाउँपालिकामा छ  जना र मंगलसेन नगरपालिकामा तीन जना गरी १३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button