घरपालुवा कुकुरमा पार्भो भाइरसको प्रभाव, समयमा खोप लगाउन चिकित्सकको सुझाव

जनकपुरधाम । घरपालुवा कुकुरमा पार्भो भाइरसको प्रभाव देखिएको छ । निक्कै प्राणघातक भाइरस भएकाले यसबाट कुकुरलाई जोगाउनका लागि नियमित रुपमा खोप लगाउनका लागि पशु चिकित्सकहरूले आग्रह गर्नु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषामा मात्र पार्भो रोगले ग्रसित भएका २–३ वटा कुकुरहरू दैनिक उपचारका लागि धनीले ल्याउने गरेको अस्पतालका पशु चिकित्सक डा. जिवेन्द्र कुमार झाले जानकारी दिनु भएको छ । यो भाइरस लागेपछि ५० प्रतिशत मृत्यु दर हुने भएकाले कुकुर जन्म लिएको ४५ दिन देखि खोप दिनु पर्ने डा. झाले सुझाव रहेको छ ।
२० हजार देखि डेढ लाखसम्मको घरपालुवा कुकुर घर धनीले पाल्ने गरेको र भाइरस लागेपछि उपचारका लागि ल्याउने गरेको बताउँदै समयमा २ सय रुपैयाँको खोप दिएको खण्डमा महँगो मूल्यको कुकुर जोगाउन सकिने उहाँले बताउनुभयो । यो भाइरस लागि सकेपछि कुकुरले वान्ता गर्ने, डायरिया हुने, ज्वरो आउने, आन्तरिक रक्तस्राव र कमजोर भएर मृत्यु समेत हुने गरेको पशु चिकित्सक डा. झाले जानकारी दिनु भयो ।
भाइरस लागेपछि यसको उपचार नभए पनि लक्षण अनुसारको उपचार गरेर निको बनाउने प्रयास आफूहरूले गर्ने गरेको भेटेरिनरी अस्पताल जनकपुरधामले जनाएको छ । खास गरेर चिसोको समयमा भाइरसले चाँडो आक्रमण गर्ने हुनाले विशेष सजगता अपनाउनका लागि पशु चिकित्सकहरूले कुकुर धनीसँग आग्रह गर्नु भएको छ ।
तीन महिना मुनीका कुकुरमा पार्भो भाइरसको प्रकोप तथा मृत्यु दर बढी मात्रामा हुने गरेको छ । खास गरेर शहरी क्षेत्रमा सुरक्षा तथा सोखका लागि कुकुर पाल्ने चलन बढी रहेको छ । वैदेशिक रोजगारीका कारणले ग्रामीण क्षेत्रमा पनि हुने खानेले कुकुर पालन गर्न थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्