तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा प्रतिनिधि सभा चुनावको तयारी सुरु, प्रहरीले सुरक्षा रणनीति बनाउँदै 

जनकपुरधाम । वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गरेर धनुषा जिल्लामा तयारी सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषाले चुनावका लागि मतदान केन्द्र सम्बन्धमा दलहरूसँग आज पनि छलफल गरेको छ ।
यसै गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु भएको छ । मतदान केन्द्र निर्धारण सम्बन्धी छलफल कार्यक्रम धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको छ । यसमा मतदान स्थलको विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनु भयो । बैठकमा विभिन्न दलका जिल्ला स्तरीय नेताहरू सहभागी रहनु भएको थियो ।
उता जिल्ला प्रहरी कार्यालय धनुषाले चुनावका लागि सुरक्षा रणनीति बनाउन थालेका छन् । निर्वाचनका लागि मतदान केन्द्रको वर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक केन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
खास गरेर मतदान केन्द्रलाई सामान्य, संवेदनशील तथा अति संवेदनशील भनेर वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल भएको छ । नेपाल सरकारले प्रतिनिधि सभा चुनावको घोषणा गरेपछि जिल्लामा चुनावको तयारी भएको छ ।
यति मात्र नभएर सम्मानित सर्वोच्च अदालतको फैसलापछि हुन सक्ने सम्भावित आन्दोलनको अवस्थालाई सुरक्षा निकायले विश्लेषण गरेर धनुषा जिल्लामा सुरक्षा रणनीति बनाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button