तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका विपन्न घर परिवारलाई न्यानो कपडा वितरण

सल्यान । सल्यानमा विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले चिसोबाट प्रभावित भएका अति विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।

गरिब तथा अति विपन्न घर परिवारहरूको सङ्ख्या पहिचान गरेर जिल्लाका १० वटै स्थानीय तहमा पुगेर न्यानो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर १ सय ६५ विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

न्यानो कपडा वितरणको लागि विपन्न परिवारको पहिचान गर्न स्थानीय तहलाई जिम्मा दिइएको थियो । सोही आधारमा अति विपन्न र गरिब घरपरिवारलाई कपडा वितरण गरिएको उहाँको भनाई छ ।

तीन वटा नगरपालिका (बागचौर, शारदा र बनगाड कुपिण्डे) २०/२० घर परिवारलाई र ७ गाउँपालिका १५/१५ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ ।

न्यानो कपडा पाउँदा विपन्न समुदाय खुशी भएका छन् । जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको त्रिवेणी गाउँपालिका–६ का अमर विश्वकर्माले बताउनुभयो । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो कपडा पाएपछि खुशी र राहत मिलेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘चिसोमा ओढ्नका लागि कपडाको कमी थियो । आज पाएँ न्यानो हुने भयो खुशी छु ।’

चिसो प्रभावितहरूलाई जिल्लाभर पाँच लाख बराबरको कम्बल तथा कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button