तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार र स्थानीय सरकारको जिम्मेवारी बढेको छ : अध्यक्ष यादव

बीरगंज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय तथा नेपाल कानुन समाजको संयुक्त आयोजनामा सङ्घीय स्वरूपमा प्रभावकारी सेवाका लागि प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज बर्दिबासमा सम्पन्न भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक सङ्घीयतामा गइसकेपछि प्रदेश सरकार र स्थानीय सरकारको जिम्मेवारी बढेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री यादवले अधिकार र जिम्मेवारी बढे पनि कानुन बन्न नसक्दा प्रदेश तथा स्थानीय सरकारले गर्नु पर्ने कतिपय कामहरू अझै ओझेलमा परेको बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले आफ्नै प्रहरी, आफ्नै लोकसेवा, आफ्नै कर्मचारी भर्ना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

होटल बर्दिबासमा आयोजित अन्तरक्रियाको उद्घाटन सत्रमा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश २ का प्रमुख विपक्षी दलका नेता शत्रुघन महतो, नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सङ्घीय संरचनामा प्रदेश सरकारको कानुन निर्माणमा योगदान र चुनौती विषयमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अवोध किशोर कुशवाहाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरी संविधान बमोजिम कानुन निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र चुनौती विषयमा विधायन व्यवस्थापन समिति राष्ट्रियसभाका सभापति परशुराम मेघी गुरुङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रदेश र स्थानीय तह बिच समन्वय र विवाद समाधान चुनौती र अवसर सम्बन्धमा अधिवक्ता मोहन आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वित्तीय सङ्घीयतामा प्रदेश सरकार चुनौती र अवसर विषयमा राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रदेश सरकारको बजेट निर्माण र कार्यान्वयन विषयमा प्राध्यापक उमाशंकर प्रसादले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button