पानी आउने निश्चित नभई सडक खन्न दिन्नौँ : मेयर राणा
बाँके । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले राप्तीको पानी नेपालगन्जमा वितरणको निश्चित नभई त्यसका लागि नेपालगन्जको सडक खन्न नदिने बताउनुभएको छ । नेपालगन्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरू सहभागी कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगन्जका लागि खानेपानी ल्याउने आयोजनामा भइरहेको ढिलाइ प्रति चासो व्यक्त गर्नुभएको थियो । उहाँले बर्षौ पहिले पाइप खरिद भए पनि आयोजनामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्नुभएको हो ।
वाटर, सेनिटेसन एन्ड हाइजिन फाइनेन्स (वासफिन नेपाल) ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख राणाले राप्तीबाट नेपालगन्जभित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगन्जका सडक खन्न नदिइने स्पष्ट पार्नुभयो । सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै सङ्घीय र प्रदेश सरकार अन्तर्गतका निकायहरू अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
वासफिन नेपालले नेपालगन्जको खानेपानी आपूर्तिको अवस्था, खानेपानी आपूर्तिमा भइरहेको प्रयास लगायतका विषयमा केन्द्रित रही प्रारम्भिक निष्कर्ष र सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । वासफिन नेपालका टिम लिडर गङ्गा दत्त नेपाल र प्राविधिक सल्लाहकार सुदर्शन भण्डारीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । वासफिन नेपालको प्रतिवेदनमाथिको छलफलमा सहभागी जनप्रतिनिधीहरुले नगरभित्र खानेपानीको सही व्यवस्थापन हुन नसकेको भन्दै सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्