वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

कर्णाली । कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीले आफूहरुलाई फाजिल किन बनाइयो ? भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
डेढ वर्षदेखि आफूहरुलाई विना कारण फाजिल बनाएर सरकारले सजाय दिएजस्तो गरी अपमान गरेको भन्दै फाजिल कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बुधबार कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा फाजिल कर्मचारीलाई दरबन्दीमा लिन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको केन्द्रीय जुनियर वन प्राविधिक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष गणेशकुमार थापाले जानकारी दिनुभयो ।
पदपूर्ति भइसकेपछि एक डेढ वर्षदेखि चार वर्षसम्म काम गरेका जुनियर फरेस्टरलाई सङ्घीय मामिला मन्त्रालयले पछिल्लो सङ्गठन तथा व्यवस्थापन एवं समायोजन गरी दरबन्दी कटौती गरेर फाजिल बनाइदियो ।” फाजिल बनाएर कामकाजका लागि देशभरि पठाए पनि दरबन्दीमा नराखेको उहाँले गुनासो गर्नुभयो ।
उहाँका अनुसार सङ्घीय सरकारबाट तलब खाने तर प्रदेशमा खटिएर काम गर्दासमेत कर्णाली प्रदेशले दिने प्रोत्साहन भत्ता, ग्रेड दरबन्दी नभएकोले फाजिल कर्मचारीले पाएका छैन ।
प्राविधिक कर्मचारीलाई घरेलुमा पठाउँदा उनीहरुबाट नागरिकले अपेक्षाकृत सेवा नपाउने र कर्मचारी स्वयंलाई असहज हुने भन्दै आफ्ना लागि जे काम कर्तव्य अधिकार हो त्यही काममा लगाउनुपर्ने तथा दरबन्दीमै लोकसेवा आयोगको परीक्षाबाट पास भएकोले प्रकृतिका आधारमा कामको जिम्मा तोकिनुपर्ने उहाँको जिकिर थियो ।
समायोजन गर्दा सङ्घीय मामिला मन्त्रालयले सङ्घीय वन मन्त्रालयकै दरबन्दी घटाइदिएको थियो । जसका कारण देशैभरि ४२१ जना वनका कर्मचारी फाजिलमा परेका छन् । अब सङ्घीय मन्त्रालयले नै दरबन्दी माग गरी विधिगतरूपमा केन्द्रबाटै यसलाई समायोजन गरेर दरबन्दी कायम गरियोस् भन्ने मुख्य माग रहेको उहाँको भनाइ छ ।
फाजिलमा राखिँदा कर्मचारीको कार्यसम्पादनदेखि बढुवा, ग्रेडवृद्धिलगायतका सेवा सुविधा र वृत्ति विकासबाट पनि वञ्चित भइने फरेस्टर कमल बोहोराले बताउनुभयो । सरकारले आफूलाई फाजिल बनाएर कर्मचारी वृत्तमा समेत विभेदकारी नीति लादेको उहाँले टिप्पणी गर्नुभयो ।
सरकारले फाजिल कर्मचारीका समस्या बेलैमा बुझ्नुपर्ने उहाँको भनाइ थियो । निजामती सेवा ऐन, २०७५ बमोजिम समायोजन भएर जुन कर्मचारीलाई व्यवस्थापन गर्यो त्यतिबेला सङ्घीय वन मन्त्रालयको दरबन्दी कटौती गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्