तपाईँ सुन्दै हुनुहुन्छः

बारामा महिला, बालबालिका हराउने क्रम बढ्दै

बीरगंज । बारामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएपछि सुरक्षा चुनौती थपिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बाराबाट एक सय १६ जना महिला तथा बालबालिका हराएका छन् ।

जसमध्ये अहिलेसम्म ६० जना महिला तथा बालबालिका फेला परेका छन् । बाँकी ५६ जना महिला तथा बालबालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

डिएसपी मिश्रका अनुसार हराएका ५४ महिला मध्ये २५ जना मात्र फेला परेका छन् भने ५६ बाल बालिका मध्ये ३४ जना फेला परेका छन् ।

हराएका मध्ये २९ जना महिला र २२ जना बालिकाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी हराएका ४ बालक मध्ये एक जना मात्र फेला परेका छन् । ३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

त्यस्तै एक पुरुष र एक ज्येष्ठ नागरिक हराएको लामो समय बितिसक्दा पनि अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रेम सम्बन्ध, वैदेशिक रोजगारी लगायतका कारण महिला तथा बालिका हराउने क्रम बढेकोमा सुरक्षा चुनौती थपिएको अधिकारकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button