तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसोले प्रदेश २ का विभिन्न जिल्लाको जनजीवन प्रभावित

जनकपुरधाम । विगत केही दिनदेखि बढेको शीतलहरका कारणले प्रदेश नंं २ का विभिन्न जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ ।

घाम पनि नलाग्ने र पश्चिम दिशाबाट हावा चलेका कारणले चिसो अत्यधिक मात्रामा बढेको छ ।

चिसो बढेपछि गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मारमा परेका छन् भने लुगाफाटाका अभाव भएका गरिब वर्गका व्यक्तिहरूको जनजीवन कष्टकर बनेको छ । बढ्दो ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, साना बालबालिकाहरू चिसोका कारण बढी मात्रामा प्रभावित भइरहेका छन् ।

करिब १० दिनदेखि अत्यधिक मात्रामा चिसो बढेका कारणले दम, हाड जोर्नी, वाथ रोगीलाई थप समस्या सृजना भएको छ । यता रुघा खोकी, चिसोका कारणले कोल्ड डायरिया, वान्ता आउने, ज्वरो आउने समस्या सर्वसाधारणमा बढेको छ ।

अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा चिसोका कारणले प्रभावित भएर उपचारका लागि आउनेको सङ्ख्या बढेर गएको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

यता अत्यधिक चिसोका कारणले प्रभावित बनेका वडावासीलाई जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ का वडाध्यक्ष जानकीराम साहले ३० क्विन्टल दाउरा वितरण गर्नु भएको छ ।

अन्य निकायबाट ठोस राहतको कार्यक्रम हुन नसकेको गरिब तथा विपन्न वर्गका जनताले गुनासो गरेका छन् ।

अत्यधिक चिसोका कारणले धनुषा, महोत्तरी, सर्लाही, सिराहा तथा सप्तरी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने कतिपय पालिकाले विद्यालय पनि बन्द गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button