तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाबाट एकै किसानका ६ हजार स्याउका बिरुवा निर्यात

जुम्ला । जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् ।

जुम्लाका स्याउ किसानले उत्पादन गरेका विरुवा बाहिरी जिल्लामा धमाधम निर्यात हुन थालेका हुन् ।

जिल्लाबाहिरका किसान जुम्ली स्याउको बिरुवा लिन नर्सरीमै पुगेपछि विरुवा निर्यात ह्वात्तै बढेको हो ।

जुम्लाबाट पहिलो पटक यस वर्ष दाङ जिल्लामा स्याउ बिरुवा निर्यात भएको पाइएको हो ।

जुम्ला सिंजा भेगका एक जना किसानले ६ हजार वटा बिरुवा बेचेका छन् । सिंजाका किसान हंश कठायतले ६ हजार बिरुवा बेचेका हुन् ।

बिरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको थियो । स्थानीय कृषक गोपाल रोकायाले भन्नुभयो, “नर्सरीबाटै ६ हजार बिरुवा २ वटा गाडीमा पठाइयो । नगद पनि नर्सरीमै प्राप्तभयो ।”

स्याउका बिरुवा रोप्ने सिजन आउन बाँकी भए पनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न सकिने भएकाले विरुवा विक्री गरिएको कठायतले उल्लेख गर्नुभयो । नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बेचेको किसान कठायतले जानकारी दिनुभयो । फाटफुट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । विरुवा बेचेरै उहाँले यो समयमा मरिब ३ लाख बढी आम्दानी गर्नुभएको छ ।

अर्गानिक स्याउ उत्पादनका रुपमा जुम्लाले आफ्नो पहिचान बनाइसकेकोले निरोगी बिरुवा उत्पादन गरेर जिल्लाबाहिर पठाउन जुम्ली किसान जुटेका हुन् ।

जुम्लाको स्याउका बिरुवा तत्कालीन कर्णालीका ५ जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बू, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेका छन् । दाङमा अलि छिटो निर्यात भएपनि अन्य जिल्लामा फागुन चैतमा हुने किसानले बताएका छन् ।

यता स्याउ सुपरजोन कार्यालय जुम्लाले किसानका बगैचामै पुगेर स्याउका विरुवा काटछाँट, मलखात व्यवस्थापन, रोग किरा निवारण, बोडो पेष्ट लगाउने तरिकाले सिकाउदै आएको छ ।

गत वर्ष जूम्लामा स्याउ उत्पादन ५० प्रतिशतले घटेपछि यस वर्ष उत्पादन बढाउन स्याउ बगैचा व्यवस्थापनमा जुटेको सुरपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

पछिल्लो समय जुम्लामा फुजी स्याउखेतीमा आकर्षण बढेकोले यो वर्ष सुपरजोनको ५० प्रतिशत अनुदानमा स्याउका विरुवा दिने समेत भण्डारीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button