तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालयमा सिसिटिभी जडान भएपछि सेवामा प्रभावकारिता

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाको कामकाजलाई प्रभावकारी तथा भरपर्दो बनाउनका लागि कार्यालयको सबै फाटमा सिसिटिभी क्यामरा जडान गरेर प्रमुख जिल्ला अधिकारीले निगरानी गर्न थाल्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्ने प्रवेशद्वार देखि सबै फाटमा गरेर १४ वटा अत्याधुनिक क्यामरा जडान गरेर अनुगमन थालेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभएको छ ।
यस अघि जडान गरिएको क्यामराको क्षमता कमजोर भएको र सबै फाटहरु निगरानी गर्न नसकेकाले ४२ इन्चको एलसिडी मोनिटर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखेर निगरानी गरिएको र यसबाट गुनासो पनि कम मात्रामा आउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले व्यक्त गर्नुभयो ।
खास गरेर गलत मनसाय राख्ने तथा आर्थिक चलखेल नियन्त्रण गरेर कार्यालयलाई सुशासन मैत्री बनाउनका लागि सिसिटिभी क्यामरा जडान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनु भयो ।
सिसिटिभीबाट निगरानी गरेपछि आपराधिक प्रवृत्ति तथा गलत मनसाय भएका व्यक्ति आफै सचेत हुने बताउँदै प्रमुख जिल्ला अधिकारी बास्तोलाले यस कार्यमा धनुषा मिथिला नगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकाले आर्थिक सहयोग गरेको बताउनु भयो ।
यसै गरी विद्युत् काटिएको वेलामा पनि राम्रो ब्याकप सहितको उपकरण जडानमा गणेमानचारनाथ नगरपालिकाले सहयोग गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । यसको जडान देखि भुक्तानीसम्मका काम पनि सम्बन्धित नगरपालिकाले नै गर्ने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनु भयो ।
सिसिटिभीबाट निगरानी भएपछि सेवाग्राही अनुशासित भएर आफै लाइनमा बस्ने गरेको र यसले जिल्ला प्रशासनको सेवामा गुणस्तरीयता तथा तीव्रता आउने विश्वास प्रमुख जिल्ला अधिकारीले व्यक्त गर्नु भयो ।
जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप पनि अत्यधिक मात्रामा बढेर गएको छ । खास गरेर कोरोनाको लामो लकडाउन हटेर पूर्ण रुपमा सञ्चालनमा आएपछि कार्यालयहरूमा सेवाग्राहीहरूको भिड बढेको छ । धनुषा जिल्लाको जनसङ्ख्या करिब ८ लाख भएका कारणले सेवाग्राहीको भिड जिल्ला प्रशासन कार्यालयमा दैनिक रुपमा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button