तपाईँ सुन्दै हुनुहुन्छः

रूसी विपक्षी नेता नाभाल्नीको गिरफ्तारप्रति मर्केलद्वारा चासो व्यक्त, बिना सर्त रिहाईको माग

रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको मस्कोमा ‘मनमानी’ तरिकाले गिरफ्तार गरिएको भन्दै उहाँको रिहाईका लागि जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार माग गर्नुभएको छ ।

मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “चान्सलर मर्केलले रूसी नेता नभाल्नीको ‘मनमानी रूपमा’ गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्नुभएको छ । गिरफ्तारीले कानूनी शासनका सिद्धान्तहरूको उल्लङ्घन गरेको छ ।” जर्मनीले आइतबार मात्र जर्मनीमा उपचार गराई फर्किएका रुसी विपक्षी नेतालाई तुरुन्त रिहा गर्न पनि आग्रह गरेको छ ।

उपचारका लागि जर्मनीमा पाँच महिना बसी स्वदेश फर्किएको करिब एक घण्टाभित्र नै आइतबार उहाँलाई मस्कोबाट पक्राउ गरिएको थियो । उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुनुहुन्छ । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वीडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको जर्मनीले जानकारी गराएको थियो ।

उहाँलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उहाँलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहनुभएको थियो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button