पूर्व–पश्चिम रेलमार्गको प्रभावितलाई क्षतिपूर्ति दिन सरोकारवालाद्धारा चासो

झापा । संघीय सरकारको योजना अनुरुप निर्माण हुने पूर्व–पश्चिम रेलमार्ग अन्तगर्त काँकरभिट्टा–इनरुवा १०६ किलोमिटर क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्ति लगायतका समस्या तत्काल समाधान गर्न सरोकारवालाले चासो देखाएका छन् ।
सरोकारवालाबीचको समन्वयको अभावमा उक्त समस्या बढ्दै गइरहेका बेला आज झापाको बिर्तामोडमा भएको छलफलमा सहभागी सरोकारवालाले उक्त समस्या समाधानका लागि चासो र चिन्तासँगै प्रतिबद्धता जनाएका छन् । प्रदेश सभाका सदस्यहरु, मुआब्जा निर्धारण उपसमिति तथा प्रभावितहरु बीच भएको छलफलबाट वैज्ञानिक र पारदर्शी ढंगले क्षतिपूर्ति, मुआब्जा लगायतका समस्या समाधान गर्न सहमति जनाइएको छ । समस्या समाधानका लागि संवाद र छलफललाई निरन्तरता दिँदै संघीय सरकार र प्रदेश सरकार समक्ष समेत समस्या पुर्याएर समाधानको पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
संवाद समूह झापाको संयोजनमा भएको छलफलमा प्रदेश १ भित्र पर्ने १०६ किलोमिटर रेलमार्ग निर्माण कार्यमा उत्पन्न भएका समस्या समाधानतर्फ अग्रसर हुँदै विकासको कार्यमा सघाउने सहभागीले जनाएका छन् ।प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, एकराज कार्की र झलकसिंह दर्लामी (सन्देश)ले समस्याको तत्काल समाधानका लागि तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण उपसमितिका संयोजक कृष्णबहादुर शाहीले मुआब्जा निर्धारण प्रक्रियाको बारेमा जानकारी गराउँदै समस्याहरुको समयमा नै निक्र्याेल गरी समाधानमा अग्रसर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभयो ।
रेलवे प्रभावित समन्वय तथा मुआब्जा समिति प्रदेश नं. १ का महासचिव रञ्जित प्रसाईं, प्रदेश स्तरीय समितिका सदस्यहरु ओमकृष्ण विमली, विश्वराज न्यौपाने, मोरङ जिल्ला समितिका सदस्य चक्र भण्डारी, बिर्तामोड नगरस्तरीय समितिका प्रकाश न्यौपाने लगायतले चलनचल्तीको मूल्य अनुसार प्रभावितहरुलाई उचित मुआब्जा र क्षतिपूर्ति प्रदान गरी स–सम्मान स्थापित हुने वातावरण सिर्जना गरिदिन तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्