स्वेटर उद्योगबाट मनग्य आम्दानी

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ३, थाप्लेकी ३८ बर्षीया शारदा हमाल यतिबेला असल उद्यमी बन्न सफल हुनु भएको छ । उहाँलाई आफैले ३ बर्ष अघि खोलेको स्वेटर उद्योगमा कामको भ्याइ नभ्याई छ । उद्योगबाट मासिक ८० हजार देखि १ लाख रुपैंया सम्म आम्दानी हुने गरेको छ । सामान्य तालिम हासिल गरेर उद्योग सञ्चालन गर्ने प्रेरणा मिलेको हमालले बताउनु भयो ।
उद्योग सञ्चालनमा आएपछि हमाल अहिले जिल्लाकै असल उद्यमी बन्नु भएको छ । हमाल असल उद्यमी मात्र होइन बेरोजगार लाई रोजगार दिन पनि सफल हुनु भएको छ । उहाँको स्वेटर बुन्ने उक्त उद्योगमा ५ जना महिलाले रोजगारी पाएका छन् । १० लाख लगानीमा उद्योग सञ्चालन गर्नु भएको हो । स्वेटर बुन्नका लागि विद्युतीय पावर मेसिन, ह्याण्ड फ्लाइट मेसिन, सिलाई मेसिन र इन्टरलक मेसिन रहेका छन् । उद्योगमा दैनिक २ सय देखि ३ सय वटासम्म स्वेटर निर्माण हुने गरेको उद्यमी हमालले बताउनु भयो ।
विभिन्न कलर र साइजका लेडिज तथा जेण्डस् स्वेटर बालबालिका देखि बृद्धबृद्धासम्मका लागि निर्माण हुने गरेको उहाँले बताउनु भयो । विशेष गरी विद्यालय पोशाकका लागि स्वेटर उत्पादन हुने गरेको छ, उहाँले भन्नुभयो ।

स्वेटर बुन्न सिकाउने र मेसिन सञ्चालन गर्ने तालिम दिनका लागि मासिक ४५ हजार खर्च बेहोरेर भारतको हरिद्वारबाट प्रशिक्षक ल्याएर एक वर्षसम्म काम गरियो अहिले आफैले काम सिकेपछि सहज भएको छ, हमालले भन्नुभयो । बिहान बेलुका घरको काम गरेर स्वेटर बुन्ने कामबाट रोजगारी पाइएको स्थानीय गीता शाहले बताउनुभयो ।
उद्योगमा उत्पादन भएको प्रति स्वेटरको ३ सय देखि १ हजार रुपैंयासम्म मूल्य पर्छ । उद्योगमा हालसम्म ५ हजार थान स्वेटर उत्पादन भएर खपत भैसकेको उहाँको भनाई छ । विद्यालय तथा शिक्षण सङ्घ संस्थाबाट स्वेटरको माग अत्यधिक आएको छ, उहाँले भन्नुभयो ।

एउटै विद्यालयबाट ३÷४ सय थानको माग आउने गरेको भन्दै हमालले स्वेटर बुन्ने उद्योग एउटा मात्र भएकोले पनि माग अनुसार गाह्रो भएको बताउनुभयो ।
जिल्लामै एक मात्र उद्योग स्थापना भएपछि स्वेटर किन्न बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । यहाँ उत्पादन भएको स्वेटर सुर्खेत, नेपालगन्ज लगायत बजारबाट ल्याएको भन्दा सस्तो मूल्यको रहेको छ । जिल्लामा स्वेटरको माग बढी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्