चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज गौशाला क्षेत्रबाट सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ को रुद्र बहादुर श्रेष्ठले वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्बरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
उक्त मोटरसाइकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को विक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ ।
भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको वास्तविक नम्बर बा९४प ९३३८ भएको रातो कालो रङ्गको २२० सिसीको पल्सर मोटरसाइकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनी ट्राफिक महाशाखामा निवेदन दिनु भएको थियो ।
हराएको निवेदनको आधारमा सूचना सङ्कलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यस आ.व.०७७/७८ मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाईमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्