तपाईँ सुन्दै हुनुहुन्छः

लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन सिकाउन शुरु

रुपन्देही । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन सिकाउन शुरु गरेको छ ।

लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले लेनको प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ ।

आइतबार बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाइकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रही सवारी सञ्चालन गर्न सिकाउन शुरु गरिएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी कसैले पनि लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले बुटवल भैरहवा सडकखण्डमा लेनको प्रयोग अनिवार्य भएको उहाँको भनाइ छ ।

पहिलो चरणमा एक हप्तासम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकहरुलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले सडकमा गुड्ने टिप्परहरुलाई टाइम कार्ड समेत लागू गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button