तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजका ४ वटा व्यापारिक फर्म, पसल तथा उद्योगलाई कारबाही

वीरगञ्ज । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने म्याद गुज्रिएका खाद्य सामग्री विक्री वितरण गर्ने वीरगञ्जका ४ वटा व्यापारीक फर्म, पसल तथा उद्योगलाई कारवाही गरिएको छ ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, वीरगंज उद्योग वाणिज्य संघसहितको टोलीले आज गरेको अनुगमनको क्रममा उपभोक्तालाई ठगि गरेको आरोपमा वीरगञ्जका चार वटा फर्म र उद्योगलाई कारवाही गरेको हो ।

म्याद गुज्रेको खाद्या सामग्री एवम पेयपदार्थ विक्री वितरण गर्ने, मापदण्ड अनुसार उद्योग सञ्चालन नगर्ने, मूल्य सुची नराख्ने, विलविजक देखाउन नसक्ने फर्म र उद्योगहरुलाई कारवाही गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजका प्रमुख जितबहादुर भण्डारीले बताउनुभयो ।

अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइस्थित बच्चु ट्रेडर्स एण्ड सप्लायर्सलाई म्याद गुज्रेको खाद्यान्न विक्री वितरण गरेको पाइएको छ । सप्लायर्सले सबैलाई देख्नेगरी साइनबोर्ड र मूल्यसुचीसमेत नझुन्ड्याएको पाएपछि कार्यालय उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ बमोजिम तत्काल २० हजार जरिवाना गरेको छ ।

त्यसैगरी म्याद गुज्रेको पेयपदार्थ वियर विक्री गरिरहेको राधेमाइस्थित अमित जेनरल स्टोरलाई पनि कारवाही गरिएको छ । स्टोरले म्याद गुज्रेको अर्ना र नेपाल आइस नामक वियर विक्री वितरण गरिरहेको पाइएको छ ।

कार्यालयले सम्पूर्ण वियर जफत गरेर तत्कालै नष्ट गरेको छ भने सञ्चालकलाई जरिवाना गरेको छ ।

त्यस्तै वीरगञ्जको पावर हाउस चोकमा रहेको विश्वनाथ किराना पसलले अनुगमनका क्रममा खरिद एवम् विक्री विल देखाउन नसकेपछि पाँच हजार जरीवान गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजका प्रमुख जितबहादुर भण्डारीले बताउनुभयो ।

यस्तै बीरगंजकै अन्नया फ्रेस चाउमिन उद्योगमा अनुगमन गर्दा कारखानाभित्र सरसफाई नभएको र चाउमिनमा गुणस्तर कायम हुन नसकेको भन्दै कारवाही गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button