तपाईँ सुन्दै हुनुहुन्छः

बाराको दुधौरा नदीमा १३ करोडको लागतमा पक्की पुल निर्माण हुँदै

वीरगञ्ज । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज एक समारोहका बीच बारा जिल्लाको दुधौरा नदीमा निर्माण गर्न लागिएको पुलको शिलान्यास गर्नु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौली र वडा नम्बर २० बसडीलवा बीच रहेको दुधौरा नदीमा पक्की पुल निर्माणको मन्त्री सोनलले शिलान्यास गर्नु भएको हो ।

दुधौरा नदीमा पुल निर्माण हुने भएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षा याममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने बाध्य भएका थिए ।

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको छ । झण्डै १ सय मिटर लामो पुल २०७९ साल असोज २८ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले विकास निर्माणमा प्रदेश सरकार गम्भीर रहेको र दुधौरा खोलामा पुल निर्माणपछि बाराका ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरी, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button